May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
कार्तिक पछि मंसिर होइन, पुष महीना आए हुन्थ्यो

कार्तिक पछि मंसिर होइन, पुष महीना आए हुन्थ्यो

मंसिर १४, सल्यान । मंसिर महिना । बिबाह लगनको महिना । मंसिर र बिबाह एक अर्काको परिपुरक जस्तो । प्रायः अधिकांश जोडिहरू बिबाह बन्धनमा बाँधिने महिना ।

मंसिर लाग्यो भने बिबाह गर्न योग्य भएका, उमेर पुगेका युवायुवतीहरू लाई विभिन्न तरिकाले जिस्काउने, छेड हान्ने दबाब दिने र उत्साहित गराउने गरिन्छ । “बिबाह कहिले गर्ने ? यो मंसिर यत्तिकै खेर नजावस् है” भनेको नसुन्ने को अविवाहित होला र ?

पछिल्लो समय फोन, सामाजिक संजालको माध्यमको प्रभावले कम उमेरमा बिबाह गर्ने र उमेर पुगेपछि छुट्ने प्रसस्त घटनाहरू देखिने गरेका छ्न भने मायाप्रेम र बिबाह बारे थुप्रै भ्रम पनि रहेको पाइन्छ ।

यसै सन्दर्भमा नयाँ दृष्टि डटकमले मंसिर, प्रेम र बिबाहबारे विभिन्न क्षेत्रमा सफलता कृयाशिल अविवाहित युवा ब्यक्तित्वहरू सँग कुराकानी गरेका छौँ । मंसिर, प्रेम र बिबाहलाई अविवाहित युवा पुस्ताले कसरी बुझेको छ ? कस्ता प्रश्नहरू सामना गरेको छ ? प्रस्तुत छ, रेडियो राप्ती एफएम सल्यानका समाचार प्रमुख तथा सल्यान टुडेका प्रधान सम्पादक बुद्धिमान पुनसँग गरिएको रमाइलो कुराकानी ।

कार्तिक पछि मंसिर होइन, पुष महीना आए हुन्थ्यो

म अहिले झन्डै २५ बर्षको भए । यो मंसिर भन्ने महिना नि आफैंमा अचम्मको महिना रहेछ । सानो हुदा अरुले बिहे गरेपछि भोजभतेर खान पाइन्छ भन्ने लाग्थ्यो । अहिले आफैं बिहे गर्नु पर्छ भन्ने कुरा आउछ । म १८/२० बर्षको हुदा नै बिहे गरेको भए त हुन्थ्यो होला तर अहिले त कात्तिक पछि मंसिर होइन, पुस महीना आए हुन्थ्यो जस्तो लाग्छ ।

मलाई मंसिरमा नै बिहे गर्नु पर्छ भन्ने लाग्दैन । मैले बिहे त अब गर्नु नै पर्छ । म नि गर्छु नै बिहे । तर अब तत्कालको योजना छैन । हेरौं अबको केहि समय । अब धेरै समय छैन, छिट्टै बिहे हुन्छ ।

बिहे गरेको भए १/२ वटा बच्चा नै हुन्थे होला

घरको छोराको उमेर बिहे गर्ने भए पछि बिहे गरेर बुहारी घरमा भित्र्याए हुन्थ्यो भन्ने सबैको चाहाना हुन्छ । त्यो मेरो घरमा पनि छ । १८/१९ बर्षको उमेरमा नै बिहे गरेर घरबार समालेर बस्ने मेरो समाजमा मलाई बिहेको कुरा आउनु स्वभाविक नै हो ।

तर मेरो घर परिवार म प्रति खुसी छ । छोरा गलत बाटोमा हिडेको छैन र हिड्नेवाला पनि छैन भन्ने कुरा मेरो आमालाई बिश्वास छ । तर कहिलेकाही घरबाट कुरा आउछ, प्रायः आफन्तबाट नै कुरा आउछ । मैले सहजै रुपमा ति कुरालाई मनन गर्दै स्वीकार गर्छु । तर अहिले नै म बिहे गर्दिन्न भनेर आफैं निर्णय गर्छु ।

मलाई बिहे गर्न हतार छैन । बिहे गरेर जसले श्रीमान श्रीमतीको भूमिका निर्वाह गर्न सक्दैन, उसले बिहे नगरेकै राम्रो हो । सायद म यो अवस्थामा हुदैन्थे भने बिहे हुन्थ्यो होला होइन, १/२ वटा बच्चा नै हुन्थे होला ।

एकोहोरो नै किन नहोस.. कसैलाई प्रेम गरियो

आफ्नो पढाईलेखाइ, जागीर, मेरो काम तिर ध्यान केन्द्रित भयो, मलाई बिहे गर्ने फुर्सद नै भएन जस्तो लाग्छ । पहिले पहिले सानो नै छु जस्तो लाग्थ्यो, अहिले चाहि अब बिहे गर्नुपर्छ भन्ने सोचाइ आएको छ ।

माया प्रेम भन्ने कुरा कसैले चाहादैँमा हुने कुरा होइन । यो आफैंमा मन भित्रबाट उत्पन्न हुने कुरा हो । मैले कसैलाई चाहन्छु होला, कसैले मलाई चाहान्छ होला तर प्रेम सम्बन्ध छैन । ताकि हामि जीवन साथि बन्ने भनेर कसैलाई बचन दिएको छैन । तर झन्डै अढाई दशकको यो अवधिमा कसैलाई एकोहोरो नै किन नहोस.. प्रेम गरियो होला ।

बिबाह बाध्यता होइन, यो रहर हो । त्यसैले मन मिल्ने मान्छे र मेरो जिवन बुझ्ने मान्छे मेरो जिवन संगिनी बन्न सक्छ । रुप होइन, संस्कार र ब्यवहार थाहा पाएको मान्छे नै मेरो रोजाइ हो । यदि यस्तो मान्छे भेटिएमा बिहे हुन सक्ला ….. ।

यो पनि पढ्नुहोस :

सँगै कलेज जाँदा – आउदा माया बसेपछि……….

मंसिर, प्रेम र बिबाहले जिवनमा पार्ने प्रभावका सन्दर्भमा नयाँ दृष्टि डटकमले समाजका विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका ब्यक्तित्वहरू सँग कुरा गरेका छौँ । प्रस्तुत छ – युवा पत्रकार तथा अनुसन्धानमुलक पत्रीका छिटो खबर डटकमका संपादक बुद्धि प्रकाश हमालसँग गरिएको रमाइलो कुराकानीको सार ।

• बुद्धिप्रकाश (बिपि) हमाल

विवाह गर्दा म २२ वर्षको थिएँ । मैले भागी विवाह गरेको हो । कतिपयले भागी विवाह नै गर्नु वेस हुन्छ भन्ने चर्चा गरेको सुनेको छु । Adventure, Romance, Understanding आदि अनुभव गर्नको लागि यो विवाह नै राम्रो हो र म पनि त्यही विवाह गर्ने भनेर कतिपय अविवाहित हरुले कुरा गरेको सुन्छु ।

यो राम्रो वा त्यो नराम्रो भन्नु त्यति सहज छैन । भागी विवाह र मागी विवाह दुवैका आ आफ्ना विशेषताहरु छन् । कस्तो विवाह गर्ने भन्ने कुरा चाहीँ भाग्य, परिवेश र उमेरले प्रभाव पार्छ भन्ने मेरो बुझाइ छ ।

जन्म, मृत्यु र विवाह कसैले चाहे अनुसार र सोचे अनुसार हुन सक्दैन । यो कुरा अनुसार विवाह पहिले नै निश्चित छ, यो भाग्यको कुरा ठहर्छ र कुनै बेला परिवेश नै त्यस्तै बन्न पनि सक्छ । र अर्को कुरा मेरो बुझाइमा उमेर परिपक्व भएपछि या भनौं २५ कटेपछि भागी विवाह एकदमै विरलै हुन्छ ।

बिबाह अघि ३ बर्ष प्रेम

मरो विवाह पूर्व हाम्रो प्रेम करिब ३ वर्ष चलेको थियो । कलेजका साथीहरुलाई पनि थाह थियो, तर एकदमै कमलाई । हामी दुवै जना सल्यान क्याम्पसमा अध्ययनरत थियौं । मेरो श्रीमती (मीना) म भन्दा ४ ब्याच जुनियर थिइन । कलेज विहान चल्थ्यो । विहान कलेज जाँदा र आउँदा एउटै बाटो र एउटै समय पर्ने भएकोले प्राय सँगसँगै जाने आउने हुन्थ्यो । त्यही संगतबाट नै प्रेम सुरु भयो ।

मीना (मेरो श्रीमती) सँगको प्रेम सम्वन्ध पश्चात नै मैले जीवनको राम्रो बाटो अँगालेको हो । नढाँटेर भन्दा उनी भन्दा पहिले पनि मेरा गर्लफ्रेन्डहरु नभएका होइनन् तर म ती सम्वन्धहरुमा कहिले पनि गम्भीर या स्थिर थिइन । मैले उनीहरु सँगको प्रेम सम्वन्धलाई सिरियसली लगिन ।

तर मेरो श्रीमती सँगको प्रेम सम्वन्ध गम्भीर थियो । आजीवन यो सम्वन्ध निभाउने मन भइसेको थियो । सम्वन्धमा गाम्भीर्यता र समर्पण भएकोेले पनि होला, त्यस पछि मैले नराम्रा बानीहरु छाड्दै गएँ । यसर्थ मलाई प्रेम सम्वन्धले पनि धेरै सकारात्मक प्रभाव पारेको निश्चित हो ।

श्रीमतीबाट आँट, हौसला र साथ पाएको छु

त्यसपछि आयो विवाहको कुरा, विवाहले पनि मेरो लागि लाई एकदमै राम्रो वातावरण निर्माण गर्यो । सुकरातको एउटा भनाई छ – “विवाह चाहीँ अनिवार्य गर, श्रीमती असल परे गृहस्थ रहनेछौ र खराब परे दार्शनिक ।” म खुशी छु की, मेरो श्रीमती मेरो कमजोरी कहिल्यै पनि बनिनन् ।

एउटा श्रीमतीबाट पाउनु पर्ने आँट, हौसला र साथ मैले यथेष्ट पाएको छु । यो साथ, हिम्मतको लागि म उनीलाई हार्दिक धन्यवाद दिन चाहान्छु । उनी प्रति आभारी छु ।

म राजनीनैतिक पाटोलाई स्थगित गरेर जागिरे जीवनमा गएको कतिपय शुभेच्छुक र साथीहरुलाई अलि मन परेको थिएन । यो सन्दर्भमा विवाहलाई बाधक भनेको पनि सुहाउँदैन । किनकी मैले जागिर गर्नुको कारण विवाह थिएन । परिवारको जेठो छोरा हुनु नै यसको एकमात्र कारण रहेको थियो ।

त्यसैले विवाह मेरो जीवनमा बाधक बनेको महसुस गरको छैन । वैवाहिक जीवन व्यवस्थित गर्न नसकेमा भने विवाहले जीवन सकिन पनि सक्छ ।

तसर्थ वैवाहिक जीवन कस्तो बनाउने भन्ने कुरा पनि श्रीमान श्रीमतीकै हातमा हुन्छ । मुर्ख श्रीमतीले श्रीमानलाई दास बनाउँछे र आफु दासी हुन्छे तर बुद्धिमान श्रीमतीले श्रीमानलाई राजा बनाउँछे र आफु रानी भएर बस्छे ।

अविवाहित मान्छेलाई समाजले कम विश्वाश गर्छ

विवाहित भएपछि निश्चित रुपमा जिम्मेवारी थप हुन्छ नै । जिम्मेवारी पुरा गर्ने कुरामा खर्च र समय कटौती पनि अनिवार्य हुन्छ । अविवाहित हुँदाको दैनिकी र विवाहित हुदाको दैनिकीमा परिवर्तन स्वत: हुन्छ ।

यसलाई तपाई स्वतन्त्रता कट्टी भएको भन्न पनि सक्नुहुनेछ, यसमा मेरो आपत्ति छैन । म त भन्छु, खाने बस्ने, सुत्ने कुनै टुंगो नभएको बन्जाडे (घुमन्ते) लाई विवाहले व्यवस्थित घेरामा नियमित गर्छ । विवाहले जिम्मेवारी बोध गराउँछ ।

अविवाहितहरु भन्दा विवाहित हरु नै बढी सामाजिक र व्यवहारिक पनि हुने गर्दछन् । विवाह पश्चात नाता, सम्वन्धहरु थपिंदै जाने र ती सम्वन्धहरुलाई सार्थक बनाउन वा निभाउनको लागि पनि बढी गम्भीर र समझदार बन्नु पर्ने बाध्यता नै हुने भएकोले पनि मान्छे सामाजिक हुँदै जान्छ ।

परिवारको कुनै निर्णय वा छलफलमा सहभागी नहुने मान्छे पनि विवाह पश्चात त्यस्ता छलफल र निर्णयमा सक्रिय हुँदै जान्छ । यसले मान्छेलाई परिपक्व पनि बनाउँछ । विवाहित र अविवाहितलाई समाजले गर्ने विश्वाश मा पनि भिन्नता छ । अविवाहित मान्छेलाई समाजले एकदमै कम विश्वाश गर्छ ।

२० देखि ३० वर्षमा विवाह गर्नु नै उत्तम

विवाह गर्ने उमेर कानुनले पनि तोकीसकेको छ । यो उमेर भन्दा पहिले विवाह गर्नु कानुनी रुपले पनि उचित भएन । विवाह गर्ने सम्वन्धमा मान्छेका आफ्ना योजना, सोच दृष्टिकोणहरु हुन सक्छन् । तर २० देखि ३० वर्षमा विवाह गर्नु नै उत्तम हुन्छ भन्ने मलाई लाग्छ ।

कुनै पनि काम सही समयमा गरिएन भने बुढेसकालमा अप्ठ्यारो हुन सक्छ भन्ने मेरो धारणा रहेको छ ।

उपयुक्त समयमा उपयुक्त व्यक्ति सँग विवाह भयो र वैवाहिक जीवनलाई सही व्यवस्थापन गर्न सकियो भने विवाह बन्धन र बाधक नभएर सफलता र प्रगतिको आधारशीला सावित हुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको