August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
सबैबाट एक्लिएका प्रचण्डलाई रोल्पा बाट सहिद पुत्रको खुला पत्र

सबैबाट एक्लिएका प्रचण्डलाई रोल्पा बाट सहिद पुत्रको खुला पत्र

कमरेड प्रचण्ड !
नमस्कार । तपाईंलाई लाल सलाम गर्ने हैसियत अहिले म सित छैन ।

जहाँ हुनुहुन्छ , मानसिक र शारिरिक दुबै हिसावले स्वस्थ हुनुहुन्छ भन्ने अपेक्षा लिएको छु। जीउदै हुदा पनि पल पल मरीरहनु पर्ने यी सबै सहिद तथा बेपत्तायोद्धा सन्तति हरुको तर्फबाट दुई शब्द ।

कमरेड ! बहादुरीतापुर्वक मृत्युलाई अंगाल्नुहुने सहिदको सन्तति बन्ने सौभाग्य या दुर्भाग्य मिल्यो । सौभाग्य भनौं भने आज महान सहिदका सपनाहरु लथालिङ्ग छन, देशले हामीलाई सहिद सन्तति हैन द्वन्द्व प्रभावित भन्छ । दुर्भाग्य भनौं भने कल्पना गरौ त हामिलाई सामन्य चोट लाग्दा ठेस लाग्दा कति दुख्छ भने, म मर्छु भनेर जानी जानि देशको लागि आफ्नो ज्यानको बलिदान हामी जो कोहीले गर्न सक्दैनौं, सायद तपाईले पनि ।

हजुरको छोरा मर्नु दुर्भाग्य हो तर पनी तपाईंको आफ्नो छोरा प्रकाश कालगतिले मर्दा तपाईका आँखा रसाएका थिए । हामीलाई पनि धेरै दु:ख लागेको थियो । हजुर जस्तो त्यति ठूल्ठूला भिडन्त देखेको कैयौं साथीहरूलाई युद्धमा गुमाएको मान्छे त आफ्नो सन्तान मर्दा रुनुभयो भने कल्पना गर्नुहोस् हामीले त हाम्रो अभिभावक गुमाएका छौ, जसले हामीलाई लालनपालन देखि शिक्षा, स्वास्थ्य दिलाउन अहोरात्र मेहनत गर्नुहुन्थ्यो ।

आज हामी सबै १४ हजार सहिदका २८ हजार सहिद सन्तति , बेपत्ता, घाइतेको त कुरै नगरौं हाम्रो हबिगत के होला ? के साच्चै यस्तै दिन देख्न हिजो आफ्नो ज्यान दिएका हुन हाम्रा अभिभावकले ? यहि दिन देख्न बेपत्ता घाइते बनाइएका हुन तपाईका समर्थक ? के यस्तै थियो सहिदको सपना ? के तपाईंले आफ्नो भर्‍याङ मात्र बनाउन प्रयोग गर्नु भयो रोल्पा लगायत सिङ्गो देशलाई ? श्रम गरेर परिवार पाल्ने निहत्था ट्याक्सी ड्राइभरको ट्याक्सीमा आगो लगाउने यहि हो तपाईंको सपना ? चिया बेचेर साना नानीहरूको पेट भर्ने पसलेमाथि लाठी प्रहार गर्दै तोडफोड गर्ने को ? यस्तै प्रश्नहरुको गोलचक्र बिचमा उभिएको छु अचेल ।

 

कमरेड ! आज देशलाई निस्वार्थ प्रेम गर्नेहरुका सन्ततिको भबिस्य अन्धकार भएको अभिभावक बिहिन टुहुरा भएका छौ भने हामीले तपाई सित आफ्नो दु:ख नपोखेर को संग पोख्नु ? यो देशमा निर्ममतापुर्वक श्रीमतीको हत्या गर्नेहरु उन्मुक्ति पाँउछन । गैँडा मार्ने तस्करहरु तारे होटेलहरुमा शाषकहरु संग लन्च र डिनर गरीरहँदा प्राण धान्न जँगल पसेको चेपाङ मारिन्छन । दशगजामा टाउको फुटाउने नेपालीहरु (मधेशी जाति धोती र भारतिय एजेन्ट भनेर अपहेलित छन । निर्मला जस्ता चेलिबेटी बलात्कारि हरु खुलेआम बसिरहेका छ्न। प्रहरीकै मिलेमतोमा निर्दोष युवा मारिन्छ्न। राम्रोसँग आफ्नो कुरा समेत राख्न नसक्ने गवारहरु मन्त्री भैरहेका छ्न। राम्रो अध्यन गरेका युवा बिदेशीनुको विकल्प छैन। देशको भुभाग बेचेर सत्ता र सम्पति आर्जन गर्नेहरु राता रात राष्ट्रवादी भएकाछन ।

सतही रुपमा हेर्दा जनजीवन सामान्य देखिए पनि दैनिक ज्यालादारी गर्नेहरु र आफ्नो उज्यालो भबिस्य देख्दै विस्वका विभिन्न सहरहरुमा भएका नेपालीहरूको पीडा शब्दले व्याख्या गर्न सकिदैन् । तपाइलाई तपाईं बन्न सक्ने, बनाउने तपाइकै नेपाली मजदुर किसान बिद्यार्थीहरु विभिन्न सहरहरुमा साँझ परेपछि मन अमिलो बनाउदै भोलिको प्रतिक्षा गर्ने बाहेक अरु बिकल्प सोच्नै सकिरहेका छैनन् ।

कमरेड ! आँखै आगाडीका यी दृश्यहरु तर चुपचाप शालिक झैँ बस्नु पर्ने म अनि तपाईं । के म चेतनशील प्राणी हुँ ? के जिउनु को अर्थ यही हो ? बडेमाको घनले टाउकोमा हिर्काए झैँ ठोकिरहन्छन यी प्रशनहरु ।

कमरेड तपाईलाई तपाईंका कार्यकर्ताले झापड र चप्पल प्रहार गर्दा लाग्थ्यो, किन यस्तो गरेका होलान ? तर जबजब तपाईंको बारेमा जान्दै बुझ्दै गए तपाई त दस बर्ष जनयुद्ध र १९ दिने जनान्दोलनको सुप्रीम कमान्डर बनेर रोल्पा रुकुम कालिकोट जुम्ला लालकिल्ला बनाई जरा गाडी बसेको राजतन्त्र फाल्न हैसियत राख्ने र सार्वभौमसत्ता नेपाली जनतामा निहित बनाउन सक्ने महान ब्यक्ति हुनुहुदो रहेछ। अहिलेको समाबेसीकरण जागीर जातका आधारमा खाने ब्यबस्थाको सुरुवात तपाईंको पहलमा भएको हो रे ! त्यतिधेरै सोच्ने तपाईंको दिमागले एकपटक तपाईंका सहयात्री सहिदका सन्ततिको अबस्था के होला ? बेपत्तायोद्धाका आफन्तहरु के गरिरहेका होलान ? घाइतेको अवस्था के होला भनेर सोच्न भ्याउनु भएन है…… ।

एकपटक तपाईं आफै आत्मासमिक्षा गर्नूहोस कि हिजोका दिनमा प्रचण्ड भनेपछि मरिहत्ते गर्ने दूखी, गरीब , सहिद परिवार , बेपत्ता परिवार , घाइते जन , ज्यालामजदुरि काम गरिखाने मजदुर दलित निम्न बर्ग भनिने सबै र सूकूम्बासी किन प्रचण्ड प्रति यति रूस्ट छन् ? हिजोसम्म कम्युनिस्ट भनेर चिनिने तपाइलाई आज यिनैले गद्दार , दलाल र पूजिपतीको नाम किन दिदैछन ?

पहिले आफू स्थापित हुनलाई सोझा साझा जनतालाई भिडाउछन , आफू पदमा पुगेपछि कुर्सीकै तानाखिची गर्छन् , दु:खमा त कहाँ आउँछन् र चुनावमा मात्रै आउँछन्, भन्ने जस्ता केही नकारात्मक टिकाटिप्पणीहरु पनि सामाजिक सञ्जालमा भेटिरहेको छु । यसो हुनुमा दुईवटा कारण हुन सक्छ ।

पहिलो कताबाट शक्तिमा पुग्न सकिन्छ भनेर कहिले काङ्ग्रेस, कहिले एमाले, त कहिले राप्रपा संग गठबन्धन गर्नू , सम्झौतामा तल्लीन हुनु । अर्को कम्युनिस्ट पार्टीको आफ्नै बिचार नीति सिद्धान्त हुन्छ, जसलाई कुल्चियर अगाडी हिड्ने तपाईंको बानी ।आफ्ना हिजो संगै यात्र गर्दाका सहयात्री एउटै बिचार बोकेका ( बैद्य, बिप्लव, बाबुराम ) हरुले सचेत बनाउदा तपाईंको घमण्ड उत्ताउलो बन्यो, लचिलो हुन सकेन र परिणाम अहिले एक्लिनु परेको छ ।

जहाँ अन्याय हुन्छ त्यहा बिद्रोह हुनू स्वोभाबिक कूरा हो । जसलाई नेपाली जनताले गरेका विभिन्न आन्दोलनले स्पष्ट पारिसकेका छन । नेपाली जनता आफ्नो ज्यानको प्रभाह नगरी सहिद बन्न घाइते बन्न पछि हटेनन, डरायनन् किनभने उनीहरुलाई सपनाहरू देखाइएको थियो ।

जुन सपनाहरू एउटा सुन्दर देश जहाँ नारीहरू पूरुष सरह नभई दोस्रो दर्जाको नागरिक भयर बाच्नु पर्दैन , जहाँ हाम्री दिदिबहिनीहरू छोरी चेलिहरू भारत लगायतका अन्य दोस्रो मूलूकमा भोगबिलास तथा दासीको रूपमा बेचिनू पर्दैन, जून ब्यबस्थामा नेपालका दलितमाथि कूनै दमन हूर्दैन , समानता छायको हुन्छ ।

जहाँ सूकूमबासीले त्रिपाल टाँगेर चिसो हूरी बतासमा कहालीलाग्दो जीवन बाच्नू पर्दैन, जहाँ नेपालका यूबाहरू खाडिमूलूकमा नोकर चाकरको, दासको जीवन बाच्नू पर्दैन , जून ब्यबस्थामा कोहि नेपाली भोकै हुदैन, जहाँ सबै नेपालीलाई गाँस, वास कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र स्वतन्त्र जीवन मिल्नेछ ।

जहाँ गरिब र धनीले लिने शिक्षामा अन्तर हुनेछैन । त्यस्तो ब्यबस्था सिर्जना गर्ने उदेश्यका साथ २०५२ फाल्गुन १ गते नेपालमा पनि (माओबादी ) ले क. प्रचण्डको नेतृत्वमा जनयुद्धको सङखघोस गरे संगै देशमा मार्ने र मर्ने जस्तो जटिल परिस्थिती सिर्जना भयो । तर आज सहिदको सपनालाई १० लाखमा साट्ने , देशका नदिनाला बेच्ने , ब्यक्तीगत स्वार्थमा तल्लीन हुने , जनबादी शिक्षा ल्याउछौ भन्ने बाहाना र लुकिछिपिको खेललाई सहन नसकिने रहेछ ।

कमरेड राजनीतिक दल बिचको प्रतिस्पर्धाले निर्दोष जनताले दुख पाउन सुहाउँछ र ? चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा रहेछ । तपाईंसँग नेपालका अन्य नेतृत्वहरुसँग भन्दा धेरै र प्रभावकारी अनुभव छ । जनता सँग तपाईंप्रतिको बिश्वास पनि बढेको थियो । जो आहिले हराएको छ । अब म तपाइको क्षमता माथि प्रश्न गर्न चाहन्न । हिजो तपाईंको साथमा हुनू भएका क. बिप्लव र बाबुराम टुटनु वा फुट्नुको कारण पत्ता लगायर एकताका साथमा लाग्नूभए धेरै उत्तम हुनेथियो ।

काम गर्दा पनि कहिँ न कहिँबाट नकारात्मक टिप्पणी त आइनै हाल्छ्न तर यो समय सबै आलोचनालाई पन्छ्याएर अगाडी बढ्नु पर्ने समय रहेछ । जनताको दु:खमा भौगोलिक विकटतामा , दलित , पिछडिएको बर्ग सबैलाई समतामूलक व्यबहार गर्दै सूखी र खूसी नेपालीको परिकल्पना, स्वरोजगारको सिर्जना, विभिन्न कलाकारखाना खोली नेपालको कायापलट गर्ने अभियानसहित तपाइको सहभागिता देख्न पाउने आशा गर्दछु ।

अन्त्यमा मेरो अनुरोध हाम्रा आमा बुवाहरु कुनै पार्टीका सहिद हुनुहुन्न, कुनै पार्टीको लागि आफुलाई बलिदान गर्नुभएको हैन !कमरेड ! यी मेरा जिज्ञासा र छटपटीवाट छिट्टै मुक्त हुनेछु भन्ने बिश्वासका साथ बिदा ।

तपाइले जाने बुझेको अघोषित सहिद पुत्र
तेज बिक्रम ओलि
रोल्पा

शीर्ष समाचार

धेरै पढिएको