October 29, 2020, Thursday
२०७७ कार्तिक १३, बिहीबार
एक सद्दे पागल, डा. गोविन्द केसी

एक सद्दे पागल, डा. गोविन्द केसी

घनश्याम अस्तित्व
प्युठान

हरेक सत्तालाई असाध्यै टाउको दुःखाइको विषय बन्दोरहेछ : सत्य बोल्ने मानिस । इतिहासको जुनसुकै घडिमा हेरौं, यस्तै देखिन्छ । कुनै पनि युगको कुनै पनि सत्ताले प्रश्न गर्ने मानिस रुचाएको देखिदैन । आजको वर्तमान विश्व राजनीतिमा हेर्दा पनि देखिन्छ कि संसारको कुनै पनि शासकमा सत्य कुरा सुन्ने र प्रश्नको जवाफ दिने धैर्यता छैन । प्रश्न, विमती र आलोचनाहरुको सिंढी उक्लेर सत्तामा पुगेको मान्छेले पनि यीनै कुराहरुलाई सबै भन्दा ठूला दुश्मनहरु मान्दोरहेछ, आफै सत्ताको मालिक बनेपछि ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द के.सी. यतिबेला १९ औंं पटकको अनशनमा छन् । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला २०६९ सालमा पहिलो पटक अनशन बसेका उनीसंग सरकारले बारबार सम्झौता गर्ने तर पुरा नगर्ने गरेका कारण अनशन दोह्रोराइरहेका छन् । ०६९ पछि कुनै पनि बर्ष छैन उनी अनसन नबसेको । यो बीचमा धेरै सरकारहरु बदलिइरहे । बस् ! मर्नै लागे भन्ने बेला सम्झौता गर्ने र पागलपनको संज्ञा दिदैँ पन्छिदै गरेको पाइन्छ ।

शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील विषयमा पनि राज्य गम्भिर बन्दैन भने के विषयमा गम्भिर छ यो राज्य ? के यी विषय पार्टीको घोषणापत्रमा राख्नकालागि मात्रै हुन ? के यी विषयले चर्चा पाउने चुनावको समयमा मात्रै हो ? सरकार दलाल पुँजीवादीहरुको अड्डा मात्रै बन्ने हो ? राज्यका हरेक संयन्त्रहरुले बदनामी कमाइरहँदा लोकतन्त्रको खोल ओडेको सरकारले नग्न नृत्य मात्रै प्रदर्शन गरिरहने हो ? आज आम नेपालीले सोंच्नै पर्ने विषय बनेको छ यो ।

देशमा कम्युष्टिको सरकार छ । सरकारको विरोधमा बोल्नेहरु विरुद्ध नेकपाका कार्यकर्ताहरु तैनाथ छन् । जसले आज विधि र शुसाशनको कुरा गर्छ उसले पागलको संज्ञा पाइरहेको छ । सामान्य मान्छेले युग बदल्न सक्दैनन् । युग बदल्नलाई शनकी मान्छेकै आवश्यकता पर्दछ । व्यक्तिगत स्वार्थलाई सुनकोशीमा सेलाएर जनताको सेवामा समर्पित डा. गोविन्द के.सी.लाई पनि आज मान्छेहरु पागल भन्नमा उद्धत छन् । कोही हो मा हो मिलाइरहेछन् । के डा. गोविन्द के.सी. साँच्चै पागल हुन् ?

राजनीतिक नेतृत्वले आफू मन लाग्दो गरिरहेको समयमा उनले ‘वरिष्ठताका आधारमा आइओएमको डीन नियुक्ति गरिनुपर्छ’ भन्नु गलत थियो ? अनावश्यक रुपमा मेडिकल कलेज खोल्ने सम्बन्धन दिइरहँदा आवश्यक ठाउँमा नहुने र कोही ठाउँमा आवश्यक भन्दा बढी हुने, स्वास्थ्य क्षेत्र सेवामूलक भन्दा व्यवसायिक बन्दै गए भन्दै ‘राष्ट्रिय चिकित्सा शिक्षा नीति तय गरेर सम्वन्धनबारे राष्ट्रि नीति बनाएर निर्णय गर्नुपर्ने’ भन्नु गलत थियो ?

सबैलाई थाहा छ, हरेक क्षेत्रमा सुधारको सबै भन्दा ठूलो बाधक बनेको छ भ्रष्टचार । के उनले ‘आइओएमका भ्रष्ट पूर्व पदाधिकारीलाई तत्काल कारवाही गर्नुपर्ने’ भन्नु गलत थियो ?

मेडिकल कलेजहरु सहरी क्षेत्रमा मात्रै स्थापित भइरहँदा ग्रामिण क्षेत्रका विद्यार्थीहरुले आफूमा क्षमता हुँदाहुँदै पनि अध्ययनको अवसरबाट बञ्चित भइरहनु परिरहेको परिवेशमा ‘ग्रामीण क्षेत्रमा मेडिकल कलेज स्थापना प्रक्रिया तत्काल सुरु गर्नुपर्ने’ भनेर माग राख्नु नाजायज हो त ? ‘विद्यार्थी संख्या र शुल्क’को सम्बन्धमा ध्यान दिनुपर्छ भन्नु पनि त गलत होइन होला ?

उनले प्रारम्भदेखि यहाँ सम्म आउँदा राखेका कुनै पनि मागहरु नाजायज छैनन् । यो १९ औं पटकको अनशनमा राखेका ६ वटै मागहरु पनि उत्तिकै जायज छन् । सरकारको तर्फबाट उनका मागहरुको सम्बोधन गरिनुपर्दछ । सम्पूर्ण जनताको आवाज बोलिरहेका उनी यो समय एक्लै जस्तो छन् । उनलाई बारम्बार प्रहरी र राजनीतिक दलका कार्यकर्ताहरुबाट पनि दुव्र्यव्यवहार हुँदै आएको छ । यो भन्दा लज्जाको विषय अर्को के हुन सक्छ ?

हामीलाई थाहा छ, सरकारी संयन्त्रहरु हुन् या सरकारी संरचना, कुनै पनि विश्वास गर्न लायक छैनन् । सरकारी अस्पताल होस् या विद्यालय, आम मान्छेको विश्वास छैन । जुनसुकै कार्यालयका कर्मचारीहरु पनि टेबलमुनिबाट दाम नपुराउँदै काम गर्दैनन् । स्थानीय तहहरुका हरेक क्षेत्रमा अनियमितता देखिन्छ । के यही हो लोकतन्त्र ? हुनुपर्ने त के के छन्, त्यो चर्चा गर्नु नै आवश्यक छैन । हरेक राजनीतिक दलका घोषणपत्रहरुमा छन् । तर भइरहेकै कुराहरुमा सुधार नभएर झन् विग्रदै जान्छ भने अब के अपेक्षा राखिरहन सकिन्छ र ?

एकपटक बोलेर, एकपटक चिच्चाएर, एकपटक सम्झौता गरेर यो सरकार केही कुरा सुन्दैन, नसुने जस्तो गर्छ । आम मान्छेहरु विरोधका नाममा एकपटक बोल्छन् । त्यसपछि थाक्छन् र मौन बस्छन् । गोविन्द के.सी.मा साँच्चैको एक पागलपन छ । कामलाग्दो पागलपन छ । यस्तै पागलपन र शनकले हो सत्ताको जग हल्लाउने ।

पागलैपागलहरुको भिडले एउटा सद्दे मान्छेलाई पागल नै देख्छ । एउटा सद्दे पागल हुन्, डा. गोविन्द के.सी. ।

शीर्ष समाचार

धेरै पढिएको