October 29, 2020, Thursday
२०७७ कार्तिक १३, बिहीबार
च्यालेन्ज गर्ने नै हो भने….

च्यालेन्ज गर्ने नै हो भने….

घनश्याम अस्तित्व
प्युठान

हामी बाँचिरहेको यो समयले सिर्जना गरेका हजारौं कुराहरु अत्यन्तै कुरुप छन् । भनौ न, कुरुपताको क्लाइमेक्स बिन्दुसंग साक्षात्कार गरिरहेछौ हामीहरु । त्यो कुरुपतालाई पखाल्नमा च्यालेन्ज गरौ ।

हाम्रो सोंच्ने तरिकामा दाग लागेको छ, त्यो दागलाई चेतनाको कुन इरेजर प्रयोग गरेर मेट्न सकिन्छ । यो कुरामा च्यालेन्ज गरौ ।

हरेक कुरामा झुट बाँचेर गह्रुंगा दिनहरु धेकेलिरहेछौ हामीहरु । हाम्ले हामीभित्रको सत्य पनि हामी आफूलाई लुकाउन खोज्छौ । तर खै र…? ती झुटहरुको पहाडले थिंचिरहेछ हामी आफैलाई । सत्य कुरा बोल्नमा च्यालेन्ज गरौ ।

सबैलाई थाहा छ, यु’द्ध, ह’त्या र दुर्घ’टनाबाट मर्नेहरुको संख्याको दोब्बर दुनियामा आत्मह’त्या गर्नेहरुको संख्या छ । कुन सपना, कुन लोभ, कुन आकांक्षा, कुन महत्वकांक्षा, कुन मोह, कुन स्वार्थ, र कुन कुराको प्राप्तिका लागि घटिरहेछ यस्तो ।

अरे….च्यालेन्ज गर्ने नै हो त्याग्नमा च्यालेन्ज गरौ ।

कहिंनेर तपाईँको एक पाइलाको खाँचो छ । कहिंनेर तपाईँको एक शब्दको खाँचो छ । कसैलाई तपाईँको हातको खाँचो छ । एक गास घटाएर खानु भयो भने कसैको एक छाक टर्न सक्छ । एक साँझ एक बोतल तान्नु भएन भने कोही फर्किन सक्छ मृत्यु जितेर अस्पतालबाट । च्यालेन्ज गर्ने नै हो भने समाजसेवा गर्नमा च्यालेन्ज गरौ ।

समाजको सबै भन्दा ठूलो रुप बनेको छ सामाजिक सञ्जाल । तपाईँले मुश्कुराइरहेको तस्बिर अपलोड गर्दा तपाईँकै फेसबुकमा एकजना साथी जीवनकै सबै भन्दा ठूलो दुःखमा हुन सक्छ । कसैलाई सहयोग गरेको प्रचार गरिरहँदा कसैको गरिबीमाथि उपहास हुन सक्छ । ‘यौ’न का’ण्ड’को एउटा लिंक सेयर गर्दैगर्दा कसैको अस्मिता लुटिन सक्छ तपाईँबाट । च्यालेन्ज गर्ने नै हो भने संवेदनशील बन्नमा च्यालेन्ज गरौ ।

कसैको गुणगानमै मस्त भएर अर्कोतर्फ आँखा चिम्लदा तपाईँका आँखाहरु बन्द भएका हुन सक्छन् । कसैको भक्ति सुन्नमै मस्त हुँदा तपाईँका कानहरुले अर्कोतर्फको आवाजलाई निषेध गरिरहेका हुन सक्छन् । आफैले बोलेको मात्रै सत्य हो भन्ठानिरहँदा तपाईँ सबै भन्दा ठूलो झुट बोलिरहेको हुन सक्नुहुन्छ । च्यालेन्ज गर्ने नै हो भने हाम्रै चेतनाको क्षेत्रफल विस्तारमा च्यालेन्ज गरौ ।

यही राज्यमा कोही धेरै खाएर मरिरहेछ, कोही भोकै मरिरहेछ । यही राज्यमा कोही दिनमा १२ जोर सुट बदल्छ, कसैको चाँही शरीर नांगै छ । यही राज्यमा एउटा पसिना चुहाउँछ, र अर्कोले त्यसको स्वाद चाट्छ । यही राज्यमा भोक र आँशु, शोक र रोगको सबै भन्दा ठूलो व्यवसाय चलिरहेछ ।

यही राज्यमा कोही अस्पतालहरुको मालिक छ, कोही एम्बुलेन्सको एक यात्रा किन्न सक्दैन । यही राज्यको न्यायालयमा न्यायको खरिदविक्रि भइरहेछ । यही राज्यमा उभिएको छ, सबै भन्दा ठूलो विभेदको पर्खाल । एउटा कागजमा ‘जनताको सर्वोच्चता’ लेखेर कोही एउटा व्यक्ति यहाँ राज्यको मालिक बनिरहेछ ।

च्यालेन्ज गर्ने नै हो भने सत्यलाई सत्य र झुटलाई झुट भन्नमा च्यालेन्ज गरौ । अब पनि तपाईँलाई त्यहि फोटो च्यालेन्ज गर्नमै सबै भन्दा बढी खुशी लाग्छ भने मलाई पनि केही भन्नु छैन । धन्यवाद । जिन्दगी जिन्दावाद !

 

शीर्ष समाचार

धेरै पढिएको