November 26, 2020, Thursday
२०७७ मंसिर १२, शुक्रबार
हाम्रो पुस्ताले राजनीतिको अर्थ नै बदल्नु पर्छ : अध्यक्ष केसी

हाम्रो पुस्ताले राजनीतिको अर्थ नै बदल्नु पर्छ : अध्यक्ष केसी

(स्थानिय सरकारले ले ३ वर्ष पुरा गरेको सन्दर्भमा छत्रेश्वरी गाउपालिका सल्यानका अध्यक्ष सन्तोस केसी सँग नयाँ दृष्टि डटकमले विविध बिषयमा गरेको कुराकानिमा अध्यक्ष केसीले प्रस्तुत बिचारको संपादित अंश । – सम्पादक )

स्थानिय तहको निर्वाचन भएको आज ३ वर्ष पुरा भैैसक्यो । ५ बर्षको कार्यकालमा ३ बर्ष बित्यो । २ बर्ष बाँकी छ । तर म के बुझ्छु भने ६५ प्रतिशत कार्यकाल सकियो । अब २० प्रतिशत कार्यकाल मात्रै बाकि छ । १५ प्रतिशत कार्यकाल रहदारहदै चुनाव लाग्छ ।

स्थानिय सरकार भनेको करिव करीव चुलोको सरकार जस्तो भयो । बिहान वेलुका जतिवेला पनि भेट हुन्छ । त्यसैले हामी सँग जनताको गुनासो पनि धेरै हुन सक्छ । अपेक्षा पनि धेरै हुन सक्छ । हामी निर्वाचित भैसके पस्चात छत्रेश्वरीबासीले धेरै कुराको अपेक्षा गरेका थिए । त्यस अनुरुप सवै कुरा बुझेर हामीले काम गर्न सुरुवात गर्याै ।

स्थानिय तहको प्रमुख भएर काम चलाउदै गर्दा एकदम सामान्य वजेट छ । त्यसको अधिकतम प्रयोग गरेर जनतालाइ सन्तुष्ट गराउनु पर्ने चुनौती छ । बाहिर सुन्दाखेरी ४० – ४२ करोड सुनिने भएता पनि ससर्त वजेट, कर्मचारीको तलव कटाउदा छत्रेश्वरीमा गाउँपालिका अध्यक्ष भएपछि मैले बर्षमा १० देखी १२ करोड बजेट चलाउछु । जवकि अस्ती भर्खर पुर्व सञ्चार मन्त्री गोकुल वास्कोटा ज्युको एउटा सामान्य डिलमा ७० करोडको कुरा आयो । ५ बर्षमा त्यो भन्दा सानो बजेट चलाउने हो मैले । यस्तो अवस्थामा हामीले गाउँपालिकाको नेतृत्व गरिरहेका छौ ।

तर नेतृत्व गर्ने अवसर पाए पछि हामीले दिने सन्देस हो । जस्तो मैले प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाको बरावर काम गर्न सक्दिन । प्रकाश ज्वालाले संघको अर्थमन्त्री युवराज खतिवडा  बरावर काम गर्न सक्नु हुन्न । मुख्य कुरा सन्देस दिने हो । जस्तो योे देशमा हिजो धेरै उर्जा मन्त्री भए तर जनार्दन शर्माले विधुत लोडसेडिङ मुक्त बनाउने कोसिस गरे । सफल भए । केहि गरेर देखाए । कुलमानले उनलाई प्रसासनिक रुपमा सहयोग गरे होला तर नेतृत्वले इच्छाशक्ती देखाए पछि सम्भब भयो ।

त्यसैले छत्रेश्वरीमा काम गर्दै गर्दा मैले उहाँहरु वरावर काम गर्न सक्ने कुरा गरिन तर समग्र सन्देस दिने कुरामा हामी अरु भन्दा अगाडि छौ भन्ने लाग्छ । जस्तो हामिले बाटोेको, पानिको, बत्तिको, स्वास्थ्यको सबै काम कुरो अगाडि बढाईरहेका छौ । बाटोको सम्वन्धमा हामीले पृथक ढंगले काम गर्ने प्रयत्न गरेका छौ ।

आफ्नो बाटो आफै खनाउछौं :

बाटोको कुरा गर्दै गर्दाखेरी हामीले अन्य स्थानिय तहले, प्रदेशले गरे जस्तो तरिकाले काम गरेनौं । हामीले के गर्याै भने पहिला आफ्नो स्रोत साधन जोड्यौं । जस्तो हामी सँग अहीले २ ओटा स्काभेटर, २ ओटा साना जेसीवी, एउटा टिप्पर लगाएत थुप्रै स्रोत साधन जोडेका छौ । बाटोको काम गर्दाखेरी हामी आफै इन्धन खरिद गर्छाैं । आफै डोजर बनाउछौं । आफ्नो बाटो आफै खनाउछौं । आफै आफ्नो काम गर्छौं । जव बाटाहरु ब्लक हुन्छन , तव तत्काल हामि आफैले सफाई गर्ने गरेका छौ ।

जस्तै हामीले छत्रेश्वरी मन्दीर जाने बाटो बनायौं । इञ्जिनेरिङ इस्टिमेटमा हिसाव निकाल्दाखेरी त्यो बाटो एक देखी डेढ करोडको थियो । त्यस्तै छत्रेश्वरी ७ पानेखोला हुदै त्रिवेणी गाउँपालिकाको कारागेठि सम्म १९ कि.मि बाटो पुर्यार्याैं । त्यो बाटो पनि अढाई देखी ३ करोडको थियो । त्यस्तै अहिले शंखमुल बाट खसु्रवास जोड्ने लक्ष्य राखेर बाटो सुरुवात गरेका छौ । त्यो बाटो निरन्तर अगाडि बढिरहेको छ ।

त्यसैगरी स्वास्थ्यको कुरा गर्दै गर्दा छत्रेश्वरीमा ७ वटा वडाहरु छन । ति मध्ये हिजो ४ ओटा वडाहरुमा मात्र स्वास्थ्य संस्था सञ्चालणमा थिए । हामी निर्वाचित भएर आएको दास्रो वर्षमै हामिले ४ ओटा वडामा वर्थिङ सेन्टर र एक – एक ओटा एम्वुुलेन्स किन्यौं र अरु ३ ओटा वडामा सामान्यतया स्वास्थ्य सेवा सञ्चालण गरेका छौं ।

दिमागमा बत्ति वाल्नु नै पहिलो कुरा हो:

शिक्षाको सन्दर्भमा छत्रेश्वरीको शिक्षाको अवस्था हेर्दा साह्रै दुःख लाग्छ । मान्छेको चेतनाको स्तर वृद्धि गर्ने भनेकै शिक्षाले हो । मेरो आफ्नै कुरा गर्दा मैले सरकारी स्कूलमा कहिले पढिन । म जिवनभर बोर्डिङ स्कूलमा पढेर आएको हु । मैले २८ वर्ष अघि जुन स्कूलको नर्सरीमा पाइला टेकेको थिए , त्यसको तुलनामा आज पनि मेरो गाउँपालिकाका सरकारी स्कूलको अवस्था कमजोर देख्छु । यद्दपी विद्यायलहरुमा पनि तुलनात्मक रुपमा हिजो भन्दा आज बढि सुधार भएको छ ।

पढे लेखेर सबै मान्छे डाक्टर इन्जीनियर बन्नु पर्छ जस्तो मलाई लाग्दैन । मैले हिजो जुन शिक्षा हासिल गरेको थिए । वास्तवमा राजनितिमा पनी मैले प्रयोग गरेको गर्दाकोे अनुभुति गरे । राम्रो शिक्षाले राजनितिमा पनि यसले प्रभाव पार्छ । त्यसैले जवसम्म दिमागमा बत्ती वल्दैन । तवसम्म अन्त उज्यालो हुदैन । दिमागमा बत्ति वाल्नु नै पहिलो कुरा हो ।

हाम्रै पार्टीमा आवद्ध शिक्षकहरुले असहयोग गरे :

त्यसैले शिक्षामा परिवर्तन गर्न धेरै प्रयास गरियो । मेरो गाउँपालिकामा धेरै ४० वटा .विद्यालय छन । ४० ओटा विद्यालयमा कस्तो छ भने कहि मावि संचालन छ त्यहाँ इन्टर पास गरेको एसएलसी पास गरेको मान्छेले प्राचार्य चलाई रहेको छ । तर कम्तीमा ब्याचलर पास गरेको प्राचार्य हुनुपर्याे भनेर हामीले माविको ठाउँमा माविको, निमाविको ठाउँमा निमाविको गरेर सबैको सरुवा गर्यौ । तर विरोध आयो ।

म सँग बिचार मिल्ने काङ्ग्रेस निकटका शिक्षक साथीहरु बढि सरुवा हुनु भएको थियो । राजनितिक पुर्वाग्रह राखेको भए म बामका शिक्षक साथीहरुलाई खाजीखोजी सरुवा गर्थे होला । असहयोग गर्नु बिपक्षीहरुको त् धर्म होला तर पनि आफ्नै बाट पनि असहयोग भयो । अहिले सम्म खाइपाइ आएको घर नजिकको स्कूलमा नभएर टाढाको स्कूलमा जानुपर्ने भनेर उहाँहरुको गुनासो रह्यो ।

त्यस्तो गुनासो नराखेर अगाडि बढ्नु पर्ने अवस्थामा उहाँहरु आज अदालत सम्म पुग्नु भयो । अहिले पनि सवै भन्द ठुलो असहयोग कसैले गर्यो भने मलाई लाग्छ हाम्रै पार्टीमा आवद्ध शिक्षकहरुले असहयोग गरेको महसुस गर्छु म । त्यसैले परिवर्तण गर्न विल्कुल गाह्रो छ । यो त सामान्य हो जस्तो लाग्छ मलाई ।

नेपालकै ठुलो शंख र यु’द्ध प्रयटन:

त्यसपछि खानेपानि नभएको ठाउँहरुको लागी खानेपानिको २ वटा ठुला आयोजना टेन्डर भएको छ । प्रयटन तर्फ, पहिलो कुरा त छत्रेश्वरी गाउँपालिका भने पछि छत्रेश्वरी मन्दीर पहिलो प्राथामिकतामा हुने भैहाल्यो । त्यस संगै शंखमुलमा नेपालकै ठुलो शंख पार्क बनाउदै छौं ।

गुराँसे लेक, जहाँ हिजो शाहि सेना र माओवादि सेनाको विचमा ठुलो लडाई भएको थियो । त्यसलाई यु’द्ध पर्यटनको रुपमा विस्तार गर्नू पर्छ भनेर हामिले त्यसको पु्रा डिपिआर तयार पारेर बजेट पनि विनियोजन गर्याै । यु’द्ध प्रर्यटनको लागी अन्त भन्दा राम्रो चै छत्रेश्वरी गापा हुन्छ भनेर हामी अगाडि वढ्ने जमर्काे गरिरहेका छौ । अहिले सम्म त बजेट आएको छैन । तर यहि आर्थिक वर्ष मै टेन्डर गर्ने तयारीमा छौ ।

अनुदान फेसन जस्तो लाग्छ:

कृषिमा पनि हामीले केही नगरेको होइन । पहिलो कुरा त कृषिका उत्पादन वजार सम्म ल्याउन राम्रो बाटो बनाउने प्रयास गर्याैं । त्यसैगरी सिचाईको पनि राम्रो व्यवस्था गरेका छौ । वेलावेला किसानहरुलाई कृषि सम्वन्धी तालीम पनि दिने गरेका छौ । अर्काे कुरा कुन ठाउँको माटोमा के सुहाउछ भनेर पनि किसानहरु सँग छलफल र अनुुसन्धान गरेर अगाडि बढ्नेछौं ।

जस्तो कृषिमा अनुदानको कुरा छ । मलाई त्यो फेसन जस्तो लाग्छ । जो नेताको वरपर घुमिराछ, नेताको नजिक छ । उसैले मात्र अनुदान पाएको छ । जिल्लामा थुप्रै अनुदान आएको छ । गाउँपालिका बाट हामि पनि दिन्छौ तर अनुदान अनुदान मात्र सिमीत भएको छ । एकदम थोरै मान्छेले मात्र इमान्दारी पुर्वक कृषिलाई पेशाको रुपमा अगाडि बढाइरहनु भएको छ ।

त्यसैले सधैभरी दिएर त कसैलाई पुग्दैन । उनिहरुलाई सिपयुक्त बनाउने दायित्व हाम्रो हो । उनिहरुको सिप बजारमा विक्नु पर्याे । त्यसको लागी शिक्षाको गुणस्तरमा जोड दिएको छु मैले ।

कार्यकर्ता सन्तुष्ट बनाउने गरी जुगाड काम गर्ने होइन:

पहिलो कुरा भ्र’ष्टाचार न्युनिकरण गर्नकै लागी भनेर विकास निर्माणका काम गर्दा गर्दा हामि कार्यकर्तामुखी नभएर टेन्डरमा गयौं । जस्तो हामिले हाम्रो गाउँपालकामा १० लाख देखी माथीका सबै योजनामा ग्लोवल टेन्डर गर्ने गरेका छौं । ग्लोवल बोलपत्र आह्वान गर्ने भनेको आज विश्व जसरी अगाडि बढिरहेको छ । त्यसरी अगाडि बढ्ने भनेको हो । त्यसले नै भ्रष्टाचार रोक्छ ।

जस्तो म नेपाली काङ्ग्रेस वाट निर्वाचित भएर आए । मलाई के लाग्छ भने सवै भन्दा पहिला आफ्ना कार्यकर्ता व्यवस्थापन गर्नुपर्छ । खासमा नेताहरु लाई यो चुनौती रहन्छ । तर मान्छेहरुलाई दिएर कहिले पनि पुग्नेवाला छैन । हामीले कार्यकर्ता सन्तुष्ट बनाउने गरी जुगाडको काम गर्ने होइन अव ।

जस्तो एउटा उदाहरण दिउ – खलंगा बालुवासंग्रहि सुर्खेत जाने वाटो । त्यो बाटो अहिले सानोसानो छ । पिज भएको छ । सामान्यतया एउटा वस जान्छ । तर अहिले पनि मलाई के लाग्छ भने यो जुगाडको काम जस्तो भयो । त्यहि बाटो अहिले १० मिटर चौडा बनाएर नाला मात्र खनेर छोडेको भए हुन्थ्यो । किनभने भोली त्यसको आवतजावत गर्ने भोलम बढ्छ र भोली अर्काे माननिय चुनाव जितेर गएर फेरी डवल कटिङ गर्ने दिन आउछ र पिज भत्किन्छ । बजेट खेर जान्छ । त्यसैले हामिले कुनैपनि काम जुगाडको काम गर्ने नै होईन । राम्रो काम गरेर अगाडि बढ्नु पर्छ भनेर लागीरहेका छौ ।

जनप्रतिनिधिको सम्पति छानबिन गरौँ :

दोस्रो कुरा, भ्र’ष्टाचार रोक्ने काम हामि नेताहरु बाट भन्दा पनि तपाई पत्रकारहरु वाट हुने कुरा हो खासमा । मैले लामो समय देखि भन्दै आएको छु । भ्रष्टाचार रोक्ने हो भने सल्यान जिल्लाका दस वटै स्थानिय तहका प्रमुख उपप्रमुखहरु २० जना, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख २ जना र २ जना प्रदेशका माननियहरु र १ जना संघका माननिय गरी २५ जनाको सम्पती सार्वजनिक सम्पती छानविन गर्नाेस ।

भ्र’ष्टाचार रोक्ने भए त्यहाँ बाट सुरु गरौं । त्यति मात्र नभएर जिल्लामा ८३ वटा वडाहरु छन । वडाध्यक्षहरु कस्तो खालको देखिन्छ भने हिजो निर्वाचनमा आउनु भन्दा पहिले उनिहरुले डोजर किने, पसल व्यवसाय गरे त्यो उनिहरुको पेशा होला । तर निर्वाचित भए पश्चात डोजरहरु किन्ने भनेको प्रवृति के हो त ? नितिगतरुपमा भ्र’ष्टाचार गर्न सजिलो होला भनेर आएको चिज होला नि त्यो । त्यसैले भ्र’ष्टाचार चरम भाछ । भ्र’ष्टाचार हुदैनथ्यो भने आज देशले कायापलट हुन्थ्यो होला ।

होल्टाइमर कार्यकर्ताको भत्ता वुझेर घर बन्छ ?

एउटा उदाहरण दिऔं यसले कसैलाई व्यक्तिगत रुपमा नलागोस । तर हाम्रो जिल्लामा निर्वाचित मन्त्री माननियहरु राजनितिमा आएको थुप्रै लामो समय भै सक्यो । मलाई लाग्छ म जन्मनु भन्दा अगाडि देखी उहाँहरु राजनितिमा हुनुन्थ्यो । मैले सुने अनुसार उहाँहरु त्यतिखेरै बाट होल्टाईमर कार्यकर्ता हुनुन्छ । देशको माननिय मन्त्री वारम्वार हुनुभएको छ । तर घर कहाँ बाट आयो उहाँहरुको ? सरकारलाई राजस्व कहाँ वुझाउनु भएको छ ? त्यसको खोजी निती गर्नू पर्याे ।

जस्तो म एउटा व्यवसायी हु ।आर्थिकरुपमा पनि राम्रै घर परिवार बाट भएर आएको हुँ । हामि वर्षमा सरदरमा ८ देखी १० करोडको व्यापार गर्छाैं होला । भोली हामिले हाम्रो सम्पती सार्वजनिक गर्दै गर्दा सरकारलाई कर तिरेको पनि प्रमानित गनुपर्छ नि।

सल्यानमा यति धेरै होलटाइमर कार्यकर्ता हुनुन्छ ३० – ४० वर्ष देखी उहाँहरुको घर कसरी बन्छ ? भत्ता वुझेर घर बन्छ ? हरेक वैठकमा १५ सय भत्ता म पनि बुझ्छु ३ बर्ष भैसक्यो । कति भयो होला । भत्ता बुझेर घर बन्दैछ त ? दिनचर्या चल्दै छ त ? खास सुन्दाखेरी उहाँहरुलाई नराम्रो लाग्न सक्छ । आरोप लगायो भन्ने हुन सक्छ तर सत्य यथार्थ यही हो ।

राजनीति चौथों नम्बरमा :

त्यसैले हिजो एउटा समय थियो । माओवादिहरुले जनयु’द्ध लडे । हाम्रै नेपाली कांग्रेसका विपि, गणेशमानहरु लामो समय जे’ल वस्नु भयो । तर अव त खाली विकासको कुरा छ । पेशा व्यवसाय बिना राजनितिमा आउने अनि घर परिवारको पेटले मान्दैन । त्यसपछि भ्र’ष्टाचार गर्नुपर्यो । राजनितिलाई पेशा बनाउने होईन । समाजसेवा हो । समाजसेवामा पैसा कमाईन्छ र ? त्यसैले व्यवसाय बिना राजनितिमा जो आएका छन । उनिहरु वाट भ्रष्टाचार भएको छ । भोको पेटले त क्रा’न्ती गर्दैन नि त ।

मेरो पहिलो प्राथामिकता भनेको मेरो परिवार हो । दोस्रो व्यवसाय । परिवार भएपछि उसको पेट पाल्न व्यवसाय चाहिन्छ । तेस्रो तपाई हाम्रो सम्वन्ध र चौथो राजनिति । सम्वन्ध नभए राजनिति हुदैन । परिवार नभए व्यवसाय हुदैन । व्यवसाय नभए परिवार पाल्न सकिदैन । राजनिति भनेको त समाजसेवा हो । यो सवै भएन भने राजनिति हुदैन । यसरी मैले राजनितिलाई चौथो नम्वरमा राखेको छु ।

समस्या मान्छेको नियतमा छ :

अर्काे कुरा जनस्तर बाट पब्लिक पनि चलाख हुन जरुरी छ । हामि जहिले पनि बाडिएका छौ । तर कसैको बिचार नराम्रो छैन । जापानमा राजा छ संसार चलाको छ । चाइनामा माओवादी छ संसार चलाको छ । अमेरिकामा राष्ट्रपति छ संसार चलाको छ । कुन तन्त्रले विकास गर्न छेकेको छर ? हामिले त राजतन्त्र फालिसक्यौं । गणतन्त्र ल्याइसक्यौं । सवै तन्त्र ल्याइसक्यौं । तर समस्या मान्छेको नियतमा छ । त्यसैले कहिलेकाही त कार्यकर्ताले भ्र’ष्टाचारी गराए जस्तो लाग्छ । कार्यकर्ता पनि नेताहरु सँग व्यक्तिगत अपेक्षा गर्दा रहेछन ।

हाम्रो पुस्ताले राजनीतिको अर्थ नै बदल्नु पर्छ :

त्यसैले आज राजनिति भन्नाले सारा चोरहरुले, फटाहाहरुले गर्नूपर्ने चिज जस्तो भै सकेको छ । भ्र’ष्टाचारको खानी जस्तो भएको छ । नेताहरुलाई पनि कार्यकर्ता पाल्नुपर्ने, जहिले पनि अनैतिक काम गर्नू पर्ने जस्तो भएको छ । यदि काम केहि छैन भने त्यो राजनितिमा आउनुपर्ने जस्तो जुन भ्रम छ । हामीले त्यसलाई चिर्नूपर्छ। अब हाम्रो पुस्ताले राजनितिको अर्थ नै परिवर्तन गर्न लाग्नु पर्छ भन्ने लाग्छ ।

जस्तो ३० बर्षको उमेरमा मैले गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाए । सायद नेपालकै दोस्रो कान्छो गाउँपालिका अध्यक्षको रुपमा निर्वाचनमा होमिने अवसर प्राप्त गरेको थिए । महाभारत गाउँपालिकाको अध्यक्ष पहिलो हुनु पर्छ । यदि मैले पनि यो समाजलाई केही  कुरा छोड्न सकिन भने जुन जोगी आएपनि कानै चिरिएका भन्ने जस्तो हुन्छ ।

अस्ती जिल्ला अस्पतालको अर्जुन डाक्टर साप आउनु भएको थियो । उहाँ पनि छत्रेश्वरीवासी हो । त्यस्तै थुप्रै मान्छेहरु प्राध्यापक, इन्जीनियर, पाइलट बन्नु भाछ । हाम्रा कामले भोली त्यो पुस्ता पनि सल्यानमा आएर राजनितिमा हात हाल्ने इच्छाशक्ती जागोस । समाज बनाउने कुरा हो । सधैंभरी जागिर खाएर हुनेवाला छैन । सधैभरी जय नेपाल भनेर पुरानो कांग्रेस कार्यकर्ताले टिकट पाउनुपर्छ भन्ने छैन ।

समाजमा राम्रो बिस्वास भएका मान्छेहरु राजनितिमा आउनु पर्याे । तव समाज बन्छ । समग्र देशको कुरा पछि गरौंला । अहिले हाम्रो हैसियत पुग्दैन । पहिला गाउँ टोल र जिल्ला बनाऔं ।

नियत साफा भएपछि काम गर्न गाह्रो छैन :

निर्वाचित भएपस्चात पहिलो दिन टोपी लाएर कुर्सीमा वस्दा चै पृथक महसुस भएकै हो । तर नियत साफा भएपछि काम गर्न गाह्रो हुदो रहेन्छ । जस्तो मलाई कमाउनु थिएन । कार्यकर्ता पालनपोषण गर्नुपर्ने, खुसी बनाउनु पर्ने पनि थिएन । निर्वाचित भएर आएपछि साझा भैहालियो । त्यसैले कसैलाई छुटाउनु पनि थिएन । होलसेलमा काम गर्ने र होलसेलमा मत लिएर चुनाव जित्ने मात्रै ईच्छाशक्ति हो । त्यसै कारणले गर्दा काम गर्न खासै गाह्रो लागेन ।

यसरी काम गर्दा बिशेषगरी सुभचिन्तकको संख्या पनि बढ्ने रहेछ । बाहिर नदेखिए पनि आज जिल्लाका प्राध्यापक, डाक्टर, बद्धिजिविहरुले यो गर्नपर्छ यो गर्नु हुदैन भनेर सुझाव दिनुहुन्छ । कतिपय नेकपाकै साथीहरुले पनि हामी बाहिर देखिन मिल्दैन तर भित्रदेखी हाम्रो पनि सहयोग समर्थन छ अगाडी बढ्नुस भन्नु हुन्छ ।

जिल्लामा सबै पार्टीका क्रियाशिल कार्यकर्ताको संख्या ५- ६ हजार होला तर यत्तिले मात्रै त यो जिल्ला चल्दैन । त्यसैले बाहिर पार्टीमा नदेखिएर भित्र लुकेर दिने मतदाता जुन छन मलाई तिनिहरु प्रति विस्वास छ ।

अन्तमा :

समाज परिवर्तण गर्न विल्कुल गाह्रो छ । राजनितिमा मात्र होईन, चाहे व्यवसायमा होस वा चाहे हरेक क्षेत्रमा । जहाँ पनि युवालाई अगाडि आउन दिने पक्षमा कोहि छैन । त्यो कारणले गर्दाखेरी युवाहरुलाई ठुलो चुनौती छ । तर समाज बनाउने कुरा हो । यस्ता समस्या सामान्य हुन । हामीले जित्छौं । हाम्रो पुस्ता जित्छ ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको