October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
हामि नसच्चिए समाप्तिको राजमार्ग तम्तयार छ

हामि नसच्चिए समाप्तिको राजमार्ग तम्तयार छ

यादब उपाध्याय

२०३९ सालमा मेरो घरमा बज्ने नेस्नल पानासोनिक रेडियोले भनेको समाचार सुनेर मेरा बा रुनु भएको मलाइ सम्झन छ। ‘बा’ सङ्ग सङ्गै सुतेको म मेरा ‘बा’ रुनु भएको घटनाले हतप्रभ भएको थिए।

१०-११ बर्षको मलाइ त्यतिखेर बिपि को मृत्यु भन्दा बा को रुवाइले चिन्तित बनाएकोथियो। पछि ‘बा’ सङ्ग सोध्दा भन्नु भो – ‘बिपि कोइराला बित्नुभो,एउटा राम्रो नेता रहेन अब।’ लाग्छ – आज संसारकै सवभन्दा बलिया लाग्ने मेरा ‘बा’ रुनुभएको त्यही घटनाले सायद मलाइ सामाजिक र राजनैतिक फिल्डमा उत्रन प्रेरित गरेको हुनसक्छ।

‘बा’ को त्यहि रुवाइको साइड इफेक्ट (असर) होला, अलि बुझ्ने भएपछी मैले बिपि लाई पढे। ‘बा’ ले काठको सानो सन्दुकमा लुकाएर राख्नुभएको ‘बिपि लाई सात मुद्दा’ पढेपछी साच्चै मलाइ बिपि प्रती श्रद्धा बढेको हो।

आज ‘बिपि स्मृती’ दिवस। बिपि हुनुहुन्न तर उहाले छोडेका बैचारिक राजनैतिक सम्पती हामि सङ्ग छन । उहाले दिएका बैचारिक मार्गदर्शनलाई कुनामा थन्काएर केवल सत्ता लिप्साको भर्याङ चढ्न उद्धत हाम्रा सोचहरु कहिले परिवर्तन हुन्छन ? तब मात्र बिपि बारेमा छलफल सार्थक होला।

बिपिले परिकल्पना गरेको सामन्ती भु स्वामित्वको अन्त्य, भुमिको न्यायिक बितरण, शिक्षा, स्वास्थ्य र कृषिमा राज्यको प्रभावकारी हस्तक्षेप, भारत र चिन सङ्गको समदुरिको सिद्धान्त, सिमान्तकृत तप्काको राजनितिमा सहभागिता र राजनितिकर्मी हरुको सादगिपुर्ण जिवनपद्धती जस्ता कुरा हरु कहाँ छन ? खोज्न सुरु गरौं ।

बिपिलाई महामानवको दोसल्ला ओढाएर खोपिको देवता बनाउने र आफू नवउदारवादको गुलामी गर्ने प्रपन्च रच्दा सम्म बिपि दिवस र प्रजातान्त्रिक समाजवाद खाली मजाक मात्र बन्छन।

हामिले सत्तामा हुदा लिएका आर्थिक, सामाजिक, राजनैतिक नीतिहरु र हामिले प्रदर्शन गरेका चरित्रहरुले बिपि को प्रजातान्त्रिक समाजवादको प्रतिनिधित्व गरेकी गरेनन ? आज हाम्रो सङ्गठन भित्र देखिएको धनवाद, डनवाद, अराजकतावाद, खिसिट्युरिवाद, उपभोक्तावाद र टिमवादले बिपि को अजस्र राजनैतिक सोचको क्यानभास बन्छ की बन्दैन ? आत्ममुल्याङ्कन गरौ।

बिपि ले भन्नुभो- ‘योजना आयोगको भित्तामा हलो जोत्तै गरेको किसानको फोटो राख।’ उहाँले भन्नुभो- ‘सवैको घरमा एउटा लैनो गाई हुनुपर्छ। सांस्कृतिक बिचलन आउने आशंकामै उहाले फेरि नवधनाड्यहरु बिरुद्ध लडाइ गर्नुपर्ने खवरदारी गर्नुभएको थियो। समाजका सिमान्तकृत बर्गलाई उठाउन आयोग बनाउने देखि नेपाल नामको देश लाई एउटा राष्ट्र बनाउन जुट्नु पर्ने उहाको सङ्केत लाई हामिले कति पालना गर्यौ ?

आज काङ्ग्रेस बैचारिक रुपमा बिघटनको सङ्घारमा र चारित्रीक रुपमा निकम्मा उपभोक्तावादमा रुपान्तरणको दिशामा छ। यस्का नेता कार्यकर्तामा देखिने बैचारिक अन्यौलता र सामन्ती ब्राम्हणवादी सोचले नेपाली जनताको बर्तमान परिस्थितिको लिडरशिप गर्न सक्ने हैसियत राख्दैन। सत्तामा रहेको नेकपाको अहङ्कार मिश्रित कृयाकलाप, लुछाचुडी र बिचारहिनताले मात्र हाम्रो सत्ता सामुन्ने छ भन्ने सोच राख्नु काङ्ग्रेसको मुर्खता बाहेक केही होइन।

हामिले राष्ट्रका बारेमा, जनताका बारेमा, समाजका बारेमा, परराष्ट्र सम्बन्धका वारेमा र समग्र अर्थनितिका बारेमा के सोचेका छौ ? अवको राजनितिले खोजेको कुरा त्यो हो।

समाजको युवापुस्तामा नपुगेको सङ्ग्ठन खाली पाटी पौवा मात्र बन्ने हो । युवा पुस्ता पनि त्यस्तो होस जो बैचारिक रुपमा स्पष्ट होस। तर काङ्गेस त्यहा पुगेको छकी छैन ? खोजी गरेको ख्वै ? आजको समाज बैचारिक रुपमा स्पष्ट र सामाजिक रुपमा मर्यादित नेतृत्व खोज्छ। साथै उस्ले दृस्टिकोण बनाउदा स्थानिय मात्र होइन मुल नेतृत्वको चरित्र र ब्यवहारको पनि मुल्याङ्कन गर्छ। हामिले सामाजिक मनोविज्ञानको यो पाटो लाई कति बिश्लेशन गरेका छौ ?खोजौं।

बिपि ले भन्नुभो- ‘हाम्रो जस्तो मुलुकका लागि प्रजातान्त्रिक समाजवाद अपरिहार्य बिषय हो। सायद त्यो कुराको प्रभाव पनि हुनसक्छ, कम्युनिस्टका प्रभावकारी नेता मदन भण्डारीले ‘बहुदलिय जनवाद’को परिकल्पना गर्नुभो र कम्युनिस्ट पार्टिलाइ बहुदलिय प्रतिस्पर्धामा जान प्रेरित गर्नुभो। दुवै नेताहरुको अभिस्ट प्रतिस्पर्धायुक्त राजनिती बाटै समतामुलक समाज निर्माण गर्ने ध्येय थियो ।

सायद, यी दुइटा समान अभिस्ट बोकेका राजनैतिक शक्तिहरुको पेरिफेरिमा घुमिरहेको राजनितिमा जो बैचारिक, सामाजिक, आर्थिक र चरित्रगत रुपमा अव्वल हुन्छ उसैले सत्ता प्राप्त गर्ने हो। नत्र भने राजनितिमा बिकल्प रहन्छ। दुवै शक्ति फेल भए अर्को शक्ति जन्मने राजनितिको नियम हो। यो वारेमा काङ्ग्रेसले के सोचेको छ ?

बिपिले हिजो भोगेका कठिनाइहरु समग्र राष्ट्रका लागि थिए। केही रणनैतिक त्रुटि बाहेक बिपिले लिएको बाटो प्रजातान्त्रिक समाजवाद सम्मका लागि थियो र त्यो नेपाल राष्ट्रका लागि अपरिहार्य आज पनि छ। आज पनि समाज स्पस्ट रुपमा दुई बर्गमा बिभक्त छ र यो बिभक्त समाजलाई समतामुलक बनाउनु हरेक समाजवादीको र खासगरी बिपि बिचारको उदेश्य हो।

आज बिपि स्मृती दिवस मनाउन लागेका हामी र बिपिलाई मार्गदर्शक मान्नेहरुले के यस्वारे सोचेकाछौं ? के समाजवादी चरित्र बनाउन हामी आजै देखि प्रयत्नशिल रहनेछौ ? कुरो स्पस्ट छ – नसच्चिए समाप्तिको राजमार्ग तम्तयार छ। अशल नेता बिपि प्रति श्रद्धासुमन !

नोट : लेखक शारदा नगरपालिका सल्यानका मेयरका प्रेस सल्लाहकार हुनुहुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको