July 30, 2021, Friday
२०७८ श्रावण १५, शुक्रबार
वाह ! हाम्रो गणतन्त्र मजदुर सडकमा , नेता महलमा

वाह ! हाम्रो गणतन्त्र मजदुर सडकमा , नेता महलमा

आफ्ना लालाबालाको सुनौलो भविष्य आँखामा सजाउदै, पेट पाल्नकै लागि घर बाट निस्किएका हजारौं मजदुरलाई आज आफ्नै देशको बाटो बन्जर मरुस्थल झै भएको छ। हतौडा र घन ठोकेका, पट्पट फुटेका हात र पैतलाहरु ट्न्टलापुर घाममा हजारौं माइलको यात्रामा निस्किएका प्रिय मजदुरहरु आज राज्यको छ्हारीमा अटाउनु पर्न तपाईं हामी भोक प्यासले थकित एकमुठी सास रहेको लथाङग्रीदो शरीरले राजमार्ग छेउका बुढा रुखहरुको छहारी खोजिरहेका छौ।

नवजात बच्चो बोकेर च्युरा खाँदै गरेकी महिला, गर्वमा आफ्नो मायाको चिनो बोकेर राजधानी बाट सल्यान हिडेकी ती गर्भवती महिला, खुट्टा बेलुन झै फुकेका ती ७/८ बर्षका कलिला बालबालिका , त्यो जेब्रा झोलाको भारी विसाएर लडेको युवक ति सबै ६-७ सय किलोमिटर पैदलै नाप्न तम्सिएका सबै मजदुर को हृद’यबिदारक दृश्य र कथा ब्यथाले प्रष्ट देखाएको छ यहाँ मजदुर को कुनै स्थान छैन । प्रिय् मजदुर , हामी कुल्ली , भरिया, श्रमिक, गाउले , पाखेको लागि यो देश उजाड छ । मुठीभरलाई त स्वर्ग छ ।

हरेक जुग फेरिए तर हामी मजदुर किसान को जिवनस्तर उहीँ छ । राणाकाल , पन्चायत , बहुदलीय व्यवस्था , गणतन्त्र यी सबै नाम मात्र हुन यथार्थमा यहाँ सिस्टम परिवर्तन भएन। पात्र फेरिए पनि पुरानै सोच र सिस्टमले जरा गाडीरह्यो । २०४६ सालको आन्दोलनमा राजाका लागि काक्रो लिन पोखरा बाट हेलिकप्टर भैरहवा पठाइयो भनेर चर्को प्रचारबाजी गर्ने तत्कालीन मालेहरु थिए रे । अहिले ३० बर्ष पछी उ बेलाका मालेका नेता खड्क ओली अहिलेका प्रधानमन्त्री छन् । उनको बर्थ डे केक हेलिकप्टरले बोक्यो । आखिर फरक के भयो ? जुग फेरियो जुँगाको बल उहीँ भनेको यहि होइन र ?

प्रिय मजदुरहरु त्यो बेला बिरोध गर्नेहरु अहिले सत्ताको पेरिफेरिमा छन र उनिहरुका बचेराहरु पनि उसै गर्छ्न जसो जसो बादसाह गर्छ्न। तपाइँले कुनै पनी दलका उदाउँदा नेताले दलभित्रको कुरु’प पद्धति, शासनमा भएको भ्र’ष्टाचारको बिरुद्धमा (सत्तापक्षमा हुँदा) आवाज उठाएको सुन्नुभएको छ ? केक बोक्ने प्रयोग हुने हेलिकप्टर हाम्रा दुखमा कहिले उडेन । हेलिकप्टर त परै जावस तपाई को लागि एउटा गाडी सडकमा समेत गुडेन । गुडे बरु हात्तीछाप चप्पलहरु अनबरत पीडा बोकेर चिरा परेका पैतालाहरु, केवल सुनसान रेगिस्थान जस्तै सडकहरुमा ।

सायद यो देशका मजदुरहरु ६२/६३ को शाही शासन फाल्न सडकमा लाखौ उत्रिदा बालकोट दरबारमा बादाम काजु खादै खड्ग ओलीले गणतान्त्रिक आन्दोलनलाई बयलगाडा चढेर अमेरिका पुगिन्न भन्दै खिसी टिउरी गर्दै थिए । उनै जनताको बलिदानले सिर्जिएको गणतन्त्रमा महाराज बन्न पाउँदा पनि जनता दुख नदेख्नेले जनताले ल्याएको कुर्सीमा बस्न सुहाउछ ?

“बाटोमा कसैलाई बिजोग भएको छैन। फोटोको दुरुपयोग भएको छ् । एक जनाले पनि खान नपाएका छैनन् ।” भन्दै आलिसान महल बाट टुइट गर्छ्न । यो देशमा नागरिकका दुखलाई नक्कली हो भन्ने हनुमानहरु कतै बाट परिचालित छन । प्रिय मजदुरहरु, आज हाम्रा दुखमा तपाईं हामिले भोट दिएर जिताएका हरु भद्दा मजाक गर्दैछ्न ।

मजदुर सडकमा, नेताहरु महलमा। वाह ! हाम्रा गणतन्त्र । हामिले खोजेको रोजेको शासन व्यवस्था के यहि हो ? प्रिय मजदुरहरु, चुनावका वेला बसका बस भरेर मान्छे गाउँमा उतार्ने दलका नेता अहिले कुन दुलोमा छ्न ? चुनावको अघिल्लो दिन भोज भतेर लगाएर मासु भात रक्सी बाड्दै हिड्ने नेताका छौराहरु कता छन ? हाम्रो भोट पाएर जितेको नेता सहर पसे पछि तपाइलाइ भेट्न कति पट्क आए ? चुनावको बेला खेतबारिमा भोट पाउनको लागि काम गरेको अभिनय गर्ने नेता चुनाव पछि कति पटक तपाईको बारिमा आयो ? चुनावको बेला पढेलेखेको लाई जागिर लगाइ दिन्छु भनेर पछाडी लाउने नेताले कति रोजगार दियो ? कि आफ्नै आफन्त लाई दिलायो ? पसिना बगाउन र देश बनाउन सहर पसेका मजदुर अलपत्र परे। भोकले छटपटाउँदै राजमार्गमा निस्किएका यात्रुलाई खाना खुवाउन र घरसम्म पुर्याउन कति गाडी मोटर को व्यवस्था गरिदिए देख्नु भो ? आखिर किन मजदुरको सहारा बन्न सकेनन ? किनकी यो व्यवस्था नै मजदुरको लागि हैन । मार्सी धानवालाको लागि हो । भाटभटेनी सपुर मार्केटका मालिको लागि हो । दलाली , भ्रष्ट र चाल्पुसीहरु को लागी हो।

चुनावको बेलामा खुवाउनु सम्म खुवाएपछि बांकी समय चुनावमा जित्नेले खाने पालो हुने रहेछ । यो कस्तो चुनावी व्यवस्था होला ? आउनुहोस, यसको विरुद्धमा लडौ । यहि देश हो जहाँ कोरोना जस्तो महामारी फैलीरहेको अवस्थामा अत्यावश्यक औषधि लगाएतका सामाग्री खच्चरमा पठाइन्छ र मन्त्री हेलिकप्टरमा पुग्छ्न । त्यो ठाउमा मन्त्री आवश्यक कि औसधि ? पशुपति शर्मा ले त्यतिकै गाएका रैन्छ्न – ‘लुट्न सम्म लुट कान्छा लुट्न सम्म लुट।’

महामरीको सङ्कटमा पनि कमिसन र भ्रष्टाचार गर्ने छोड्दैनन भने यी देशका नेताले हाम्रो दुख र पीडा कसरी बुझ्छन् ? कात्रोमा पनि राजनीति गर्ने नेताहरु ले तपाई हामीलाई अमन चयन दिन्छ्न भन्नू केवल दिवा सपना मात्र हो । भोक प्यासले थकित तपाई जस्ता मजदुरहरुलाइ कयौ सहयोगि मनहरुले बाटोमा सहयोग गरेको देखियो । तर खै देश मा ३ तहको सरकार छ रे । खै कहाँ छ सरकार ?

शासकले जब सत्तालाई स्थायी ठान्छ। ऊ धृतराष्ट्र बन्छ । धृतराष्ट्रका सयौँ पुत्र थिए । उनी आँखा नभएर अन्धा थिए। उनका छोराहरू शक्ति, सम्पत्ति र आसक्तिले अन्धा थिए । राज्यकोष रित्याउने, स्त्रीलाई न’ङ्ग्याउने, विपक्षीलाई सिध्याउने कुकार्यले जनता साह्रै आजित थिए। हो त्यस्तै अवस्था अहिले छ । उनीहरुका मन्त्री आसेपासे ब्याप्त अनियमिता , भ्र’ष्टाचार , मोलमोलाइ , कमिसन र राज्यकोष रित्याउने , सरकारी सम्पती हड्प्ने जस्ता कार्यमा लिप्त छ्न र शाशक उनीहरुकै पक्षमा छ । जनता आजित छन , सडकमा छन ।

सरकार स्थायी भए, जनपक्षीय काम हुन्छ। विकासले तिब्रता पाउँछ। देशले नयाँ गति लिन्छ। सामाजिक आर्थिक परिवर्तनको गति तिब्र हुन्छ आदि हाइपोथेसिस नेपालमा प्रमाणित भएन। बरु उल्टो निरंकुशता, स्वेच्छाचारिता र कुशासन मौलायो । नेताका रातारात महल ठडिए । आसेपासे हरेक क्षेत्रमा सेट्ल भए । राज्यकोष चरम दुरुपयोग भयो । श्रीपेच बिहिन राजा रजौटाहरुको उदय भयो । दोष मनोबृतिको हो कि ब्यवस्थाको ? प्रश्न उब्जेको छ ।

बिहान बेलुका काम गरेर दैनिक गुजारा गर्ने मजदुर कुल जनसङ्ख्याको कती प्रतिशत होलान ? तिनलाई एक महिना दुइ छाक खान दिन नसक्ने पनि देश हुन्छ ? तिन तहको सरकार छ समन्वय गर्न सकिँदैन ? मजदुरहरूलाई यथास्थानमा राखेर दुइ छाक खान दिंनलाई राज्यको ढुकुटी रित्तिएको हो ?

नेपाल भित्रै मात्र हरेक गाउँ फर्किन इच्छुक मजदुरलाई सरकारले नै पुर्याउदिनु पर्छ भन्ने कुरा विभिन्न सामाजिक संजालमा छरपस्ट भएका हृदयविदारक दृश्यहरुले पुष्टि गरेका छन् । नत बसेकै ठाउँमा रोक्न सक्ने,न घर पुर्याउन सक्ने अकर्मण्यताले सरकार मात्र होइन, पूरै राज्य प्रणालीप्रति वितृष्णा जागेको छ।

कोरोना रोकथामको लागि सरकारले विभिन्न ठाउँ बाट घर हिडेका मजदुरलाई यथास्थानमा उचित प्रबन्ध गर्नुपर्छ कित घर सम्म पुर्याइदेउ सरकार धेरै रमिते नबन। अन्तिममा अहिले देशका विभिन्न ठाउबाट घर जान हिडेका मजदुरहरुको दुख पीडा नदेखे झै गरि कानमा तेल हालेर बस्ने कथित नेताहरु साच्चै मे १ ( श्रमिक दिवस ) आउदै छ कस्तो भाषण गर्छन सुन्न मन छ। सायद उनीहरु भन्ने छन – हामी मजदुर सर्बहारा जनता को लागि लड्छौ । प्रिय मजदुरहरु साच्चै आउनुस अब यो सिस्टम र ब्यथिती को वि’रुद्धमा लडौ । हाम्रो लागि कोहि लड्दैन आफ्नो लागि आफै लडौ ।

कुमाख ५ सल्यानका वाइबि जिएम शिक्षण  पेशामा आवद्ध हुनुहुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको