October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार
जनताको निकटतम रहेको अधिकार सम्पन्न स्थानीय सरकारले यो विपदमा धेरै काम गर्न सक्छ

जनताको निकटतम रहेको अधिकार सम्पन्न स्थानीय सरकारले यो विपदमा धेरै काम गर्न सक्छ

मा. टेकबहादुर बस्नेत ‘समरसिंह’
सदस्य, प्रतिनिधिसभा, सल्यान

हाम्रो स्वास्थ्यका लागि लकडाउन, यो राष्ट्रका लागि लकडाउन, मानव जातिको भविष्यका लागि लकडाउन, विश्वका लागि लकडाउन, २१ औं शताब्दीमा पहिलो पटक आजको विश्वको महामारी कोरोनाका विरुद्ध लकडाउन नेपाल सरकारले जारी गरेको छ र यो तेस्रो चरणको थपिएको (२०७६ चैत्र २५ देखि २०७७ बैशाख ३ गतेसम्म) लकडाउन हो । यसको संयमतापूर्वक, आत्मानुशासनका साथ पालना गरौं, पालना गराउँ । यो विश्वव्यापी महामारीलाई नहेपौं र लापरवाही नगरौं । यो देखि नतर्साैं र सावधानीपूर्वक अघि बढौं । हामीसँग उपलब्ध साधन–स्रोतको भरपुर उपयोग सबैले गरौं र सबैलाई गराउँ ।

नेपालको संविधान–२०७२ ले संघीयताको मूल भावना अनुरुप स्थानीयतहको सरकारलाई अधिकार सम्पन्न बनाएको छ । यो जनताको सबभन्दा नजिकको सरकार हो । यसले जनताको जति प्रत्यक्ष आलोचना खेपेकोछ, त्यत्तिकै न्यानो माया पनि पाएको र पाउने ठाउँमा पनि छ । यो अवस्थामा संघीय सरकार र प्रदेश सरकारका लागि स्थानीयतहको सरकारले इतिहासको युगीन अवसरको रुपमा लिएर केही चसकासाथ अघि बढ्यो भने धेरै गर्न सक्छ । प्रदेश सरकारले केही गर्न सक्छ र अझ धेरै त संघीय सरकारले गर्न सक्छ । किनकि अवसरहरु इतिहासमा विरलै आउने र प्राप्त हुने गर्दछन । संधै र सबैका लागि आइरहँदैनन । लिनेले लियो, गुमाउनेले गुमायो, हाम्रो हातमा कि त रचिएको ईतिहास कि त पश्चाताप । हामीले के रोज्ने ? कुन लय र संगीतमा जाने ? अहिले पनि यो महामारीलाई बुझ्ने र अघिबढ्ने विश्वमा दुई दृष्टिकोण, दुई धारा र दुई दिशा त स्पष्टै छन । हामीले यही विपदको विन्दुबाट अघि बढ्ने चेष्टा मात्र गर्याैं भने पनि यो देशको परनिर्भर राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको रुपमा नेपाली समाजलाई नयाँ दिशामा कुदाउन सकिन्छ र देशलाई संविधानले देखाएको बाटो समाजवाद तिर उन्मुख गराउन सकिन्छ ।

१. हालसालै स्थानीयतहको सरकारसंग यो महामारीसंग जुध्ने अस्त्र–औजारहरु नै छन के के त ?

महामारीको उग्ररुप लिंदै गरेको यो घडीमा हामीसंग : क) महामारी रुपि कोरोनालाइ टाढैबाट देख्ने, चिन्ने, जान्ने, बुझ्ने र अघि बढ्ने अवसर प्राप्त छ ।

ख) हामीसंग सरकार सञ्चालनको २-३ वर्षको अनुभव छ, बचेको स्रोत र सहयोगी हातहरु छन ।

ग) विकसित मुलुकहरु महामारीकोे डरलाग्दो चपेटा र प्रकोपमा जकडिई सकेका छन भने विकासमा पछि परेको भनिएको नेपालमा यो रोगबाट केही (आजसम्म ९ जना) संक्रमित भए पनि यो भन्दा अझ डरलाग्दो मृत्यू र संक्रमणको बाढी आएको छैन आउन पनि सक्छ । त्यसको सामना अवश्य गर्नुपर्छ, तर समय पर्याप्त छ ।

घ) हामी एक्लो छैनौं । रोगको संक्रमण एवं विस्तार जुन गतिमा भएको छ । त्यो भन्दा अझ तीव्र गतिमा विश्वका सबै वैज्ञानिक, स्वास्थ्यकर्मीहरु, गोटाखोरहरु यसको उपचारका लागि भरपर्दाे र प्रभावकारी औषधीको खोजीमा छन । आशा गर्न सकिन्छ कि नेपालमा अन्तिम चरणसम्म जतिबेला यसले शिखरतम् उग्ररुप धारणा गर्न पुग्छ, खोजीले सफलता प्राप्त गर्न सक्छ ।

ङ) हामीसंग भएको सबैभन्दा बलियो अस्त्र भनेको Virgin नेपालको जनतामा भएको यो रोगका विरुद्धको उच्च प्रतिरोध क्षमता हो । यो हाम्रो पुर्खांैली कस्तुरीमा पाइने विनारुपि नाभिकिय सम्पत्ति हो ।

२. यो सन्दर्भमा अधिकार सम्पन्न स्थानीयतहका सरकारहरुले के गर्न सक्छन् र के गर्नु पर्ला त ?

२०७२ को महाभूकम्पका वेला हामीसँग मात्र संघीय सरकार थियो, प्रदेश र स्थानीयतहको सरकार थिएन । संघीय सरकार पनि बनेको संविधान अनुरुप निर्वाचित नभएर संविधान निर्माणको आधार तयार गर्ने सरकार थियो । त्यसको सामना गयौं । मानव जातिको इतिहास पल्टाएर हेरियो भने करोडौंको ज्यान लिएका महामारीले अहिले पनि हाम्रो आँग जिरिङ्ग गर्छ । प्रसिद्ध वैज्ञानिक डार्विनको सिद्धान्त अनुसार बाँच्नका लागि संघर्ष मानव जातिले इतिहासमा जति गरेको छ । आज त्यो भन्दा ठूलो संघर्ष गर्नुपर्छ । मानव जातिले विकाशका नाममा प्रकृतिका नियमहरुलाई बुझेर लागु गर्ने भन्दा मिच्ने बेला नपुग्दै मिचेर अघि बढ्न खोज्यो र आज यो नियती भोग्नु परेको छ ।

अझ कतिपय मुलुकका शासकहरुको आजसम्म हासिल गरिएको विकासको दम्भ चूर भैसक्दा पनि मानव जातिले सुन्न चाहने धुन भन्दा अमानवीय र असान्दर्भिक धुनले सबैलाई अवाक बनाएकै छ । हाम्रा अगाडि हाम्रो काबु भन्दा बाहिरको महामारी आउँदैछ, तर घर आँगनमै आइ पुगेको छैन । घर आँगनमै पाइलो टेक्न नदिनका लागि नेपाल सरकारले र प्रदेश सरकारले पनि केही निर्देशन र अपीलहरु जारी गरेर हामीलाई बाटो देखाएकै छन् ।

यो सन्दर्भमा स्थानीय सरकारले गर्नुपर्ने केही महत्वपूर्ण कामहरुमा ध्यान केन्द्रित गर्नु जरुरी छ ।

क. महामारी कोरोनाबारे सचेतना जागरण एवं प्रचार–प्रसार (कोठे प्रशिक्षण, माईकिङ्ग, गीत–संगीत, कविता–गजल) आदि ।

ख. स्थानीय स्तरमा भाइरस विरोधी शक्तिहरुको अभिलेखिकरण, वर्गीकरण र सही परिचालन (जनता, विदेशबाट र स्वदेश मजदुरी गरेर आउने, सरकारी काम नपाएका स्वास्थ्यकर्मी, विद्यार्थी, बुद्धीजिवि, शिक्षक–कर्मचारी, जनप्रतिनीधि) । यो तथ्याङ्क लिने कुरा इतिहासमा मानिसलाई केन्द्रविन्दु बनाएर अध्ययन गर्ने र अघिबढ्ने कुरा हो । सामान्य औपचारिकता पुरा गर्ने हिसाबले मात्र अभिलेख लिनु हुँदैन । हाम्रो आदत केही औपचारिकतामा सीमित हुने गरेकोछ । विकसित मुलुकहरुले विकासमा मारेको फड्कोको इतिहास सिद्ध कुराको रहस्य पनि यतैकतै लुकेको छ । यो तथ्याङ्क लिदा पहिलो चरणमा बाहिरबाट आएकाहरुको विस्तृत विवरण सहितको अभिलेख, अब आउनेहरुको अभिलेख र अब पनि नआउने आफ्नो नागरिकको अभिलेख लिनु आवश्यकछ ।

ग. समावेशी चरित्रको FRAT (टोल शीघ्र कार्यान्वयन र कार्यवाही टोली) गठन । पालिकाको स्वास्थ्यकर्मी, प्रहरी फोर्स र पालिका प्रमुखसँग सिधै र जिवन्त समन्वयका लागि जनप्रतिनीधि, स्वास्थ्यकर्मी, विद्यार्थी, युवा, महिला समावेशी चरित्रको FRAT सम्मिलित एक FRAT गठन गर्ने ।

घ. होम क्वारेन्टाइनलाई व्यवस्थित गर्ने कुरामा जोड दिंदै न्युनतम मापदण्ड पुगेको क्वारेन्टाईन वार्डको निर्माण गर्ने, विरामीलाई जति सक्यो होम क्वारेन्टाइनबाटै उच्चस्तरको क्वारेन्टाइनमा रिफर गर्ने तयारी गर्ने ।

ङ. यो महामारी सँगसँगै खाद्य अभाव पनि साथ–साथै आउने कुरालाई मध्यनजर गरेर खाद्य संकट पर्ने क्षेत्रको अचुक नीति एवं मापदण्ड बनाउने । यसका लागि श्रम बेचेर नै जीविकोपार्जन गरेका, तर लकडाउनका कारण श्रम बेच्न नपाएका, जसलाई होम क्वारेन्टाइनमा पनि राख्नै पर्दछ । केही विपन्न नागरिक (जेष्ठ नागरिक, एकल महिला, दलित) ।

अहिले हामी बाँच्नका लागि जीवन मरणको संघर्षमा छौं । यो संघर्षमा हामी एक्लै पनि छैनौं । यो संघर्षमा हाम्रा मित्रहरु धेरै छन, दुश्मन यो कोरोना मात्र हो । यो संघर्षमा हाम्रा मित्र र सहयोगीहरु को–को र कुन–कुन हुन् भन्ने कुरा केलाउन जानिएन र गंभीरतापूर्वक लागिएन भने हामी एक्लै मात्र होइन, हाम्रो उपचार पनि हुने छैन । यसै वेलाको मृत्यूपछि हाम्रो लास मशानघाट पनि पुग्ने छैन । हाम्रो न्यूनतम मृत्यू संस्कारको पालना पनि हुने छैन । खबर पाए पछि मशानघाट पुग्ने आजको स्थापित मान्यता पनि एकैपटक विस्थापित हुनेछ ।

अन्ततः र सारतः यो बाँच्नका लागि संघर्ष हो । तर यो संघर्ष मानवजातिको उत्पत्तिको बेलाको होइन, २१ औं शताब्दीको संघर्षको हो । यो बेला खुद्रा राजनीति गरेर गन्तव्यमा पुगिंदैन । न त कोरोनाका विरुद्धको संघर्षमा विजय नै प्राप्त नै गर्न सकिन्छ । दुश्मन थोकमा आउने हामीले खुत्रुके खेलाई रहने होईन । यो लडाईंमा के सत्तापक्ष, के प्रतिपक्ष, के विद्रोही पक्ष सबै एक भएर अघि बढौं । कोरोना पराजित हुने आधारहरु छन् । कोरोना पराजित हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको