सेयर गर्नु होस् |

सन २०२५ सकिनै लाग्दा कैलालीको भजनीमा रहेको दिगो विकास समाजले आइतबार टिकापुरमा वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा टिकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका प्रतिनिधि, कृषक, सहकारीका प्रतिनिधि तथा अन्य सरोकारवालाहरू सहभागिता रहेको थियो ।

संस्थाले सन २०२५ को वार्षिक स्वीकृत बजेट कुल १ करोड १९ लाख ४९ हजार ९ सय ८३ रुपैयाँ मध्ये १ करोड १६ लाख ७४ हजार ४ सय ४५ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरेको छ । जस अन्तर्गत सामुदायिक सशक्तीकरण तथा विकासका लागि स्थानीय पहल कार्यक्रममा ७६ लाख १३ हजार ७० रुपैयाँ खर्च गरिएको छ भने डिजिटल कृषि सल्लाहकार प्रणाली, केरा खेती तथा बङ्गुर पालन प्रवद्र्धन कार्यक्रममा २३ लाख १० हजार ४ सय ४६ रुपैयाँ खर्च गरिएको छ । यस्तै ग्रामीण महिला लक्षित महिला सशक्तीकरण र अधिकार प्रवद्र्धन कार्यक्रममा १२ लाख ३३ हजार १ सय ८४ खर्च गर्दा लैङ्गिक रूपान्तरण कार्यक्रममा ५ लाख ५० हजार २ सय ४८ रुपैयाँ खर्च भएको दिगो विकास समाजका कार्यकारी निर्देशक लक्ष्मीदत्त भट्टद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले सन २०२५ मा सञ्चालन गरेको सामुदायिक सशक्तीकरण तथा विकासका लागि स्थानीय पहल परियोजनाबाट ३ हजार ७ सय २१ जना लाभान्वित भएका छन् । जसमा २ हजार ९ सय ६६ जना महिला छन् भने ७ सय ५५ जना पुरुष छन् । यस्तै परियोजनाका क्रियाकलापमा सबैभन्दा बढी जनजाति ३ हजार १ सय ९३ जना सहभागी भएका छन् भने २ सय ४१ जना दलित र अन्य २ सय ८७ जना रहेको प्रतिवेदनमा उल्लेख छ ।

परियोजनाको प्रतिवेदन अनुसार सन २०२५ मा १६८ जनाले सुरक्षा सम्बन्धी ज्ञान र सीप बढाउने प्रशिक्षण पाएका छन् भने परियोजनाको सहयोगबाट ५३८ जनाको सरकारी सेवा सुविधामा पहुँच बढेको छ । यस्तै २५ जनाले मानवअधिकार, सुरक्षा र विवाद समाधान सम्बन्धी तालिम पाएका छन् । २५७ जना अपाङ्गता भएका व्यक्ति समुदायका सङ्घ संस्थामा सक्रिय भएका छन् भने तीमध्ये ७० जना समुदायको नेतृत्व भूमिकामा रहेका छन् ।

हेल्पडेस्क सहजकर्ता र मानवअधिकार रक्षकको सहजीकरण सहयोगमा १९३ जनाले अपाङ्गता परिचयपत्र नयाँ बनाउने तथा नवीकरण गर्ने कार्य गरेका छन् । जसमा १९ जनाले रातो, ६० जनाले निलो, ८३ जनाले पहेँलो र ३१ जनाले सेतो कार्ड प्राप्त गरेका छन् । यो सँगै ३२ जना महिलाहरूले स्थानीय सङ्घसंस्थाहरूमा अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । ६ वटा सहकारीले समावेशी र सुरक्षा सम्बन्धी नीतिहरू तयार गरेका छन् । बर्दगोरिया गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको डाटाबेस प्रोफाइल निर्माण भएको छ भने २९ वटा समूहले स्थानीय स्रोतबाट ३३ लाख ४८ हजार ६५० रुपैयाँ परिचालन गर्न सफल भएका छन् ।

यस्तै ४५३ जनाले विभिन्न तालिममार्फत उद्यमशीलता र व्यवसाय सम्बन्धी सीप बढाएको, ५० जनाले सीप विकास तालीम प्राप्त गरेको, २६४ जनाले कृषि र गैर कृषि क्षेत्रमा आधारित उद्यम गरिरहेको, भूमिहीन ४८ घरपरिवारले जमिन लिजमा लिएर खेती गरिरहेको, १५३ घरपरिवारले वित्तीय सेवा तथा बजार पहुँच सुधार गरेको, २३ जना युवा सहरीकरणकर्ताले उद्यम विकास र डिजिटल सम्बन्धी क्षमता विकास गरी परिचालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु तथा उत्थानशील जीविकोपार्जन अन्तर्गत ७ वटा जलवायु अनुकूल प्रविधि सम्बन्धी प्रशिक्षण गर्दा १३९ जनाको जलवायु स्मार्ट खेती सम्बन्धी सीप बढेको, ३६९ घरपरिवारले किचन गार्डेन किट र पोषणसम्बन्धी तालिम पाएको, ५ समुदायले विपद् पूर्व तयारी योजना तयार गरेको, ४ समुदायले जलवायु परिवर्तनसँग सम्बन्धित कार्य योजना कार्यान्वयन गरेको, २ वटा सामुदायिक जीविकोपार्जन परियोजना पालिकासँग मिलेर सञ्चालन भएको समेत प्रतिवेदनमा भनिएको छ ।