सेयर गर्नु होस् |

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावत सहज भएको छ ।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक योजना मार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

झन्डै १३ किलोमिटर दुरीको सडकमध्ये दुई किलोमिटर बाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको सडक योजना कार्यालयले जनाएको छ ।

यातायात व्यवसायी रेशबहादुर विश्वकर्माले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टाको यात्राअवधि स्तरोन्नतिपछि २० देखि २५ मिनेटमा छोटिएको बताउनुभयो । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् ।

कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा एकतर्फी कालोपत्र भएको थियो । मुस्ताङ र कोरला नाका सडक सञ्जालमा जोडिपछि गाडीको चाप बढ्दा साँघुरो यो सडक पछिल्लो समय जीर्ण बनेको थियो ।