April 11, 2021, Sunday
२०७७ चैत्र २९, आईतवार
सल्यानमा डाक्टर अभाव : नर्स र कार्यालय सहयोगीको भरमा कोभिड अस्पताल

सल्यानमा डाक्टर अभाव : नर्स र कार्यालय सहयोगीको भरमा कोभिड अस्पताल

सल्यान २४, मंसिर । सल्यानका स्थानीय तहहरूमा स्थापना गरिएका कोभिड बिशेश अस्पतालहरूमा डाक्टरहरूको अभाव भएको छ । स्थानीय तहहरूले डाक्टरको लागी दरखास्त आह्वान गरेपनि डाक्टरको लागी कुनै पनि आबेदन नआएको हो ।

अस्पतालको लागी डाक्टरहरूको आबेदन नपरेपछि कोभिड बिशेश अस्पतालहरू नर्स र कार्यालय सहयोगीको भरमा संचालन गरिएको सल्यानका स्थानीय तहहरूले बताएका छन ।

कोभिड¬१९ अस्थायी अस्पतालमा काम गर्न डाक्टरले आवेदन नदिएपछि गाउँपालिकाले स्टाफ नर्स र कार्यालय सहयोगी भर्ना गरेर कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको सिद्ध कुमाख गाउँपालिका सल्यानका अध्यक्ष चित्रबहादुर चलाउनेको भनाइ छ ।

त्यस्तै जिल्लाको कपुरकोट गाउँपालिकामा पनि अहिले डाक्टर बिना नै कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गरेको निमित्त प्रमुख प्रशासयिक अधिकृत अरुण दाहालले बताए । उनको अनुसार स्टार्फ नर्स र कार्यालय सहयोगी कै भरमा अस्पताल सञ्चालन भैरहेको छ । गाउँपालिकामा प्रदेश सरकार अन्तर्गतका पारामेडिक्स दुई जना कार्यरत रहेकाले सामान्य उपचार गर्ने र जटिल अबस्थाको बिरामी भएमा बाहिर रिफर गर्ने गरी सञ्चालन गरिएको उनको भनाई छ ।

स्वास्थ्य शाखा संयोजक प्रभात कुमार श्रेष्ठका अनुसार त्रिबेणी गाउँपालिकामा पनि डाक्टर बिना नै कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गरिएको छ । असोज २६ गते डाक्टरको लागी दरखास्त आह्वान गर्दा कोही नआएपछि दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरेर अस्पताल सञ्चालन गरिएको उनले जानकारी दिए । अस्पताल सञ्चालन गरिएपनि डाक्टर नहुदाँ सेवा प्रवाह गर्न समस्या भैरहेको उनको भनाई छ ।

दार्मा, कालिमाटी र बनगाडमा डाक्टर ल्याउने तयारी

त्यस्तै दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यज्ञ कुमार बस्नेतले स्टाफ नर्स भर्ना गरेर कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गरेको बताए । अबको केही दिनमा डाक्टर भर्ना गर्ने तयारी भएको तर को आउने भन्ने बारेमा निश्चित भैनसकेको उनले बताए । डाक्टर बिना सेवा प्रवाह गर्न समस्या भएको उनको भनाई छ ।

तर दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले पनि पौष १ गतेदेखि एमबिबिएस डाक्टरले कोभिड अस्पतालमा सेवा बताएका छन । सामाजिक संजाल मार्फत उनले यो जानकारी गराएका छन ।

त्यस्तै, कालीमाटी गाउँपालिकाले पौष १ गते देखी डाक्टर भर्ना गरेर सेवा प्रवाह गर्ने जनाएको छ । हालसम्ममा सम्पर्कमा डाक्टर रहेको र पौष १ गतेदेखी भर्ना गरेर कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गरिने स्वास्थ्य शाखा संयोजक गोरख बहादुर थापाले जानकारी दिए ।

बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बासुदेब पोख्रेलले डाक्टर छनोटका लागी मंसिर ३० गते अन्र्तवार्ताको दिन तोकिएको बताए । स्टाफ नर्स र कार्यालय सहयोगी भर्ना गर्न समस्या नभएपनि डाक्टरको भर्ना गर्न भने समस्या भएको उनको भनाई छ ।

त्यस्तै, छत्रेश्वरी गाउँपालिकाले कर्मचारी भर्नाका लागी पहिलो पटक दरखास्त आह्वान गर्दा डाक्टर र स्टार्फ नर्स कसैमा पनि आवेदन नपरेकाले मंसिर २२ गते सोमवार देखी दोस्रो पटक दरखास्त आह्वान गरिएको गाउँपालिकाले जनाएको छ ।

कुमाखले डाक्टर पायो, बागचौरले अस्पताल संचालन गरेन

कोभिड अस्पताल संचालन गरेका ५ स्थानिय तहमध्ये जिल्लाको कुमाख गाउँपालिकाले भने डाक्टर पाएको छ । गाउँलिकाले एक डाक्टर, २ जना स्टाफ नर्स, एक जना कार्यालय सहयोगी भर्ना गरेर सेवा प्रवाह गर्न शुरु गरेको छ । कोभिड¬१९ सेवा र ल्याव सेवा तथा ७० प्रकारका औषधि सहितको सेवा प्रवाह गर्दै आएको बताइएको छ । कोभिड अस्पताल मंसिर १५ गते पूर्व मन्त्री तथा सांसद टेकबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।

तर बागचौर नगरपालिकाले भने डाक्टर आउने सम्भावना कम भएकाले कोभिड अस्पताल सञ्चालन नगरिएको जनाएको छ । अस्थायी अस्पतालमा डाक्टर आउन नमानेकाले कोरोनाको अबस्था हेरेर केही समय पछि कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख हरी बहादुर कठायतले बताए ।

कोभिड अस्पताल संचालन गरेका स्थानीय तहहरूले पनि कोरोना भाइरस रोकथामको लागी सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना सहित आबश्यक परामर्श सेवा मात्रै प्रवाह गरेको जनाएका छन् । कोभिड अस्पतालमा कोरोना संक्रमित नभएकाले अहिले खासै समस्या नभएको उनिहरुको भनाई छ । जटिल खालका बिरामी आएमा बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।

दरबन्दी अनुसारको डाक्टर नहुदाँ सेवा प्रवाहमा समस्या भैरहेको स्थानिय तहको भनाई छ । अस्पताल नभएका अरु स्थानिय तहमा पनि डाक्टर आउने निश्चित छैन् । जिल्लाका अरु स्थानिय तहले पनि कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गर्ने तयारी गरेका छन् । तर दरबन्दी अनुसार डाक्टर आउने बारेमा भने आशंका छ ।

किन आएनन् डाक्टर ?

सिद्ध कुमाख गाउँपालिकाले ५ शैयाको कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालनका लागी असोज १२ गते दरखास्त आह्वान्न गरेको थियो । जसमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीको लागी भर्ना गर्न दरखास्त खोलेकोमा स्टाफ नर्स र कार्यालय सहयोगीका लागी आवेदन परे पनि डाक्टरको कोटामा आवेदन परेन ।

अध्यक्ष चित्र बहादुर चलाउनेका अनुसार सरकारी मापदण्डमा तलव भत्ता कम हुदाँ कोभिड¬१९ अस्थायी अस्पतालमा काम गर्नका लागी डाक्टरको आवेदन नपरेको हुनसक्छ । बिभिन्न ठाउँहरुमा समन्वय गर्दा पनि आवेदन दिन कोही नआएको उनले बताए । उनले भने- “बेड, आबश्यक सरसामानको ब्यवस्थापन गरिएपनि डाक्टर नहुदाँ कोभिड सम्बन्धी परामर्श सेवा मात्रै प्रवाह गरिरहेको गरिरहेका छौँ ।”

त्यस्तै निजि मेडिकलहरुमा आकर्षक सेवासुविधा पाउने भएकाले पनि कोभिड¬१९ अस्थायी अस्पतालमाहरू डाक्टर नआएको हुनसक्ने कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरुण दाहालले बताए । उनले भने – ‘कोभिड¬१९ अस्थायी अस्पतालमा तीन महिनाको लागी मात्रै हो, फेरी सेवा सुविधा उहाँहरुले सोचेअनुसारको हुदैन्, त्यही भएर पनि यहाँ आउन मन नगरेको हुन सक्छ’ ।

कपुरकोट गाउँपालिकाले असोज २१ गते कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गर्नका लागी कर्मचारीको दरखास्त आह्वान गरेको थियो । तर स्टाफ नर्स र कार्यालय सहयोगी पदमा आवेदन परेपनि डाक्टरको कोटामा आबेदन परेन् ।

शारदा नगरपालिकामा पहिले नै जिल्ला अस्पताल रहेकाले शारदा नगरपालिका बाहेक जिल्ला अरु सबै स्थानिय तहले ५ शैयाको कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गर्नुपर्ने ब्यबस्था गरिएको गरिएको थियो।

सल्यानमा हालसम्म ६ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ५ सय ५० जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या १ सय ३२ रहेको छ । हालसम्म जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यू भएको छ ।

स्रोत : सल्यान टुडे

शीर्ष समाचार

धेरै पढिएको