August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
पुर्व सांसद नेत्रलाल श्रेष्ठको कथा

पुर्व सांसद नेत्रलाल श्रेष्ठको कथा

सल्यान खलंगा पुरानो बसपार्क बाट केहि पर, ठण्डी सडकको छेउमा एउटा सेतो घर छ । घरको पहिलो तलामा पुरानो मिल छ । दोस्रो तलाको एउटा कोठामा राप्रपा सल्यानको पार्टी कार्यालय छ र अर्को कोठामा बस्छन नेत्रलाल श्रेष्ठ। नेत्रलाल श्रेष्ठ अर्थात पुर्व सांसद । एक जमानाका लोकप्रिय नेता । जनताका ठुला सहयोगी। यो घर पनि उनैको हो र अचेल प्राय: उनि यतै भेटीन्छन।

सरकारी जागिर छोडेर राजनीतिमा होमिएका नेत्रलाल गाउँ पंचायतको वडा सदस्य, जिविस सल्यानको उपसभापति हुदै २०५६ को निर्वाचनमा सल्यान क्षेत्र न. २ बाट सांसद पदमा निर्वाचित भए । उनि आफ्नो तिन दसक ( २०३२- २०६१ ) लामो राजनितिक जिवनमा सल्यानमा निकै प्रभावशाली र लोकप्रिय रहे । आशा र भरोशाको केन्द्र बने । सुखदुखका सहयोगी बने । नागरिकका स-साना समस्या समाधान गर्नेदेखि ठुलाठुला निर्माण अभियानको नेतृत्व गरे । उनकै नेतृत्वमा कुटो, कोदालोले खोर्सेर लुहापिङको डाडो बिसाल मैदानमा परिनत भयो । जसले अहिले पनि जिल्लाको सान राखेको छ । इज्जत थेगेको छ ।

उनि लामो समय सत्ता र शक्तिको वरिपरि रहे तर उनले राजनीतिलाई कमाइ खाने भाडो बनाएनन । बरु भएको सम्पति सबै रित्याए पछि एक दशक (२०६१-२०७२) लामो समय उनि राजनीति बाटै पलायन भए । बिदेशीको भाडा माझे । तर उनले राजनीतिलाई दुरुपयोग गरेनन ।

लुहापिङको डाडो खनेर बिशाल मैदानमा परिणत गरीएको थियो।

उनै इमान्दार र आदर्श राजनितिका प्रतिबिम्ब नेत्रलाल अचेल हाम्रो सामु गुमनाम जस्तै छन् । राजनितिक रंगमंचमा उनको भूमिका साघुरो जस्तो भएको छ । समयको प्रवाहमा उनि कतै छुटेका छन् । छुटाइएका छन् । यतिबेला उनी अपरिचित जस्तै भएका छन् । उनले सेवा गरेको पुरानो पुस्ता अहिलेको समाज र राजनीतिमा खासै निर्णायक छैन । अधिकांश नयाँ पुस्ताले उनलाई चिन्दैनन् । चिनजान छैन ।

एक दसक लामो विदेश पलायनले उनको ठुलो जनसम्पर्क टुट्यो । यहि समयमा देशले ठुलो राजनितिक कोर्स परिवर्तन गर्यो जसले गर्दा उनले अङ्गिकार गरेको राजनितिक धार निकै कमजोर बन्यो । तर पनि नेत्रलाल निराश छैनन । भन्छन – ”राजनीतिमा आशा हुदो रैछ ।”

यतिबेला उनि अमेरिका बाट फर्केका छन् । पुन: राप्रपा सल्यानको सभापति भएका छन र सक्रिय छन् । स्मरणीय कुरा के छ भने पंचायती राजनितिक पृष्ठभूमिका उनले पंचायतले हारेको ठिक १ दसक पछि संसदीय निर्वाचन जितेका थिए ।

हुन त कतिपयले उनलाई सांसद भएपछी सुविधा भोगको लागी अमेरिका तिर भाग्यो पनि भन्छन । सुख सयलको लागी उनि अमेरिका गए पनि भन्छन । यदि त्यस्तै हुदो हो त १० वर्ष पछि अमेरिका छोडेर उनि पुन : किन स्वदेश फर्किन्थे र ? त्यसैले यस्तो आरोप लगाउनेहरू प्रति नेत्रलाल गुनासो गर्छन – ”सांसद निर्वाचित् भएपछी तत्काल म अमेरिका गएको होइन । धेरैलाई त्यस्तो भ्रम छ । संसद भंग भएको ३ वर्ष पछि मात्रै म अमेरिका गएको हु ।”

नेत्रलाललाई कतैं न कतै पलायन हुनुपर्ने बाध्यता थियो । संयोगले उनि अमेरिका गए । उनि भन्छन – “पञ्चायत कालमा मेरो आदेश बिना रुखका पातहरू पनि हल्लीने अवस्था थिएन । थुप्रैलाई जागिर ख्याए । थुप्रैलाई शिक्षक बनाए । सेना पुलिस बनाइयो । त्यतिवेला शिक्षा आयोग हाम्रै हातमा हुन्थ्यो । तर बाफतमा कसैको पनि ५ रुपैया खाइएन। कसैलाई रुहाइएन । बरु भएको सबै खलास पारियो । २०५८ सालसम्म आउदा म आर्थिकरुपमा निकै कमजोर भैसकेका थिय । पहिला मेरो कपडाको ठुलो ब्यापार थियो । खाना लाउन पुग्थ्यो । तर पछि राजनीति गर्दागर्दै म शाहु ऋणमा डुबिसकेका थिए ।” उनि भन्छन – “त्यतिबेला मेरो मनमा अमेरिका जाने सोच नआएको भए , अमेरिकाको भिसा नपाएको भए वा नगएको भए अहिले म सडक छाप हुन्थे । मैले सडकमा माग्नु पर्थ्यो । मेरो अवस्था बिजोग हुन्थ्यो ।”

संबेद’नशील फोन र संसद भंग हुने सूचना :

नेत्रलाल अमेरिका जानुुमा २०५८ सालमा शेरबहादुर देउवाले संसद भंग गरेको घटना महत्वपुर्ण छ । यहि घटनापछि उनले अमेरिका जाने सोच बनाए । २०५८ जेठको सुरुमा जर्मन बाट संसदहरु आएका थिए । नगरकोटमा २ देशका सांसदहरुको कार्यशाला गोष्टि थियो । गोष्टिमा राप्रपा बाट नेत्रलाल सहभागी थिए भने नेका , एमाले र अन्य बाट गरी जम्मा १५-२० जना गोष्टिमा सहभागी भएका थिए ।

गोष्टि चलिरहेकै थियो । त्यहिवेला नेत्रलाललाई संवेदनशील ठाउ बाट फोन आयो र फोनमा भनियो – ”सब कुरा सकियो अव । जेठ ०९ गते संसद भंग हुदैछ ।” त्यो घटना सम्झदै नेत्रलाल भन्छन – ”सांसद भएको २ वर्ष मात्रै भएको थियो । कत्रो संघर्ष पछि चुनाव जितिएको थियो । तर संसद भंग भएपछी त के रह्यो र ? २०३२ साल देखी सरकारी जागिर छोडेर राजनितिमा होमिएको म त्यतिबेला सम्म पुरै साहु ऋणमा डूबिसकेको थिए । आर्थिक रुपमा निकै कमजोर भैसकेका थिए । तर सांसद हुदा सम्म लाग्थ्यो – “अहिले माननीय छदैछु , पछि जे पो होला देखा जाएगा ।”

तर अचानन संसद भंग हुने भएपछी उनले हरेस खाए । जता हेरेपनि भिरैभिर देखे । काठमाण्डौको बसाई, छोराछोरीको स्कुल फि, कोठाभाडा, राशनपानी र अन्य खर्च । सांसद हुदासम्म त तलव भत्ताले गुजारा चल्थ्यो । तर संसद नै भंग हुने भए पछि त के रह्यो र ?

देश द्वन्दमा थियो । मुलुकको अवस्था राम्रो थिएन । परिवार छोराछोरीलाई सडकमै छोड्नु पनि भएन । केहि त गर्नु पर्यो । त्यतिवेलाको आफ्नो सोच सम्झदै नेत्रलाल भन्छन -”अमेरिकाको भिसा लगाईहाल्छु । मुलुकमा केहि राम्रो भएछ भने किन देश छोडेर जानु पर्यो र ? नत्र बिदेशीको भाडा माझेर भएपनि बाच्नु पर्यो भन्ने लाग्यो।” नेत्रलालको बाध्यता थियो।

संसद भंग हुने सुचना पाएपछि नेत्रलाल ले सुरुमा त संसद जोगाउन सकिन्छ कि भन्ने झिनो आशा राखे । २०५१ सालमा एमाले अल्पमतको सरकारले संसद भंग गरेको घटनालाई सर्वोच्चले मान्यता नदिएको नजिर थियो ।

त्यसैले उनले त्यतिबेला गोष्टिमा सहभागी अछाम बाट निर्वाचित कांग्रेसका माननीय राम बहादुर बिष्ट, सुर्खेत बाट निर्वाचित माननीय हृदयराम थानी लगाएत ४-५ जनालाई आफ्नो कोठामा बोलाएर भने -”मलाई सम्बेदशील ठाउबाट फोन आयो, जेठ ०९ गते संसद भंग हुदैछ रे । तपाई हामि सबै भूपू हुदैछौं ।”

उनले ति संसदहरुलाई सुझाव दिए – ”तपाईहरु आजै गएर सभापति गिरिजा वावुलाई भेट्नुहोस र शेरवहादुर देउवालाई कि त सरकार बाट फिर्ता बोलाउ कि त अविस्वासको प्रस्ताव बाट हटाई दिऔं भनेर कन्भिन्स गर्नोस ।”

जिल्ला बिकास समितिको उपसभापति भएको बेला नेत्रलाल श्रेष्ठ ।

नेत्रलालका कुरा सुनेर ति सांसदहरू पनि एकछिन त काला भए । तर एकछिन पछि सम्हालिदै उल्टै नेत्रलाल प्रति आशंका गर्दै भन्न थाले – ”हाम्रो पार्टीमा ठुलो झगडा छ । आगो लागेको छ । त्यो सत्य हो तर तपाइले त्यो आगोमा घ्युं थप्ने कोसीस गर्नु भयो । शेरबहादुरजीले संसद बिगठन गर्ने कुरा कल्पना पनि गर्न सकिदैंन ।”

त्यतिबेला कांग्रेसमा ठुलो लडाई थियो । एकातिर शेरबहादुर थिय अर्कातिर गिरिजावाबु । सुचना संवेदशील भएकोले मात्र सबैको हितको लागी उनले यस्तो प्रस्ताव गरेका थिए । उनीहरुले बिश्वास नगरे पछि नेत्रलाल भने – ”ठिकै छ त्यसो भए जेठ ०९ गते सम्म हेरौं । म कोनै हु र तपाईहरूको पार्टी मा झगडा पार्दिने ?” नेत्रलालको तेत्रो हैसियत पनि कहाँ थियो र ?

उनीहरु संगको सम्बाद पछि नेत्रलालले अमेरिकाको भिसा लगाउने निस्चित गरे । भोलीपल्टै बिहानै उनि ट्याक्सी चढेर नगरकोट बाट काठमाण्डौ गए । नबिल बैंकमा १०० डलर डिपोजिट गरेर भिसा आवेदन फारम भरे । त्यतिवेला अन्तरवार्ताको मिति पनि नबिल बैकले नै तोक्थ्यो । तर जेठ १४ गते उनको अन्तरवार्ता तोकिएपछि उनि निरास बने । किनकि सबै सबैले अमेरिकाको भिसा पाउन संभव थिएन । जेठ ०९ भित्र अन्तरवार्ता तोकियो भने सांसदको हैसियतले भिसा पाउन सकिन्छ कि भन्ने उनलाई लागेको थियो । तर जे सुकै होस भनेर त्यसपछि उनि फेरी नगरकोट फर्के । गोष्टि सकिएको थिएन । गोष्टिमा सहभागी भए ।

गोष्टि सकियो । जेठ ०९ गते भंग गर्ने भनेको संसद, बिशेष प्राबिधिक कारनले जेठ ११ गते प्रधानमन्त्रि देउवाले भंग गरे । नेत्रलाललाई आएको सुचना सहि सावित भयो ।

संसद भंग भएपछी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ( अहिलेका बरिष्ठ नेता ) नेत्रलाललाई भेट्न बोलाए । नेत्रलालले दिएको सुचना उनि सम्म पुगेछ । भेटमा पौडेलले यस्तो कुरा कसरी थाहा पाउनु भयो, स्रोत के हो ? भनेर सोधे । नेत्रलालको जवाफ थियो – “मैले तपाईका साथीहरूलाई सूचना दिएको हु । उहाँहरूले पत्याउनु भएन । तर यस्तो संबेदनशील सुचनाको स्रोत दिन मिल्दैन हजुर ।”

प्लास्टिकको झोला बोकेर कन्सुलरको अफिसमा :

त्यसपछि भिसाको अन्तरवार्ताको लागी जेठ १४ गते बिहानै उनी अमेरिकी दुतावासको काउन्सुलरको अफ़िसमा लाइनमा उभिए । धेरै जना पछि उनको पालो आयो । कहिले सुकिलो मुकिलो नहुने , सधै झुत्रेझात्रे भएर हिड्ने नेत्रलाल त्यसदिन पनि हातमा सानो प्लास्टिकको झोलामा पासपोर्ट बोकेर काउन्सुलरको अफिसमा पुगेका थिय । सम्झनाको लागी नेत्रलालले त्यो प्लास्टिकको झोला अहिलेसम्म पनि सुरक्षित राखेका छन् ।

अमेरिकाको भिसाको लागी प्लास्टिकको झोला बोकेको एउटा सामान्य मान्छे कन्सुलरको अफिसमा पुगेको थियो । नेत्रलाल भन्छन – “मलाइ देखेर ति काउन्सुलर हाँसे । सायद अचम्म माने होलान । झोलामा के छ भनेर सोधे – मैले केहि पर्सनल पेपर छन् भने । त्यसपछि कुन्नी के सोचे उनले । ल त अमेरिका गयर इन्जोय गरेर आइज भने । भिसा दिईहाले । म आफै चित खाए ।”

भिसा पाइयला भन्ने उनलाई लागेकै थियन । जेठ ११ गते बाट उनको संसद पद गैसकेको थियो । उनले सबैतिर बाट उनले हार खाइसकेका थिए । तर भिसा पाए पछि उनको आत्मा बिस्वास बलियो भयो । ठुलो काम सम्पन्न गरे जस्तो लाग्यो । एउटा गरिखाने मेसो त भेटाए भनेर उनि ढुक्क भए । सोचे – अव मुलुकमा केहि राम्रो भएछ भने देश छोडेर किन जानु पर्यो र ? नत्र बिदेशीको भाडा माझेर भएपनि बाच्ने पर्यो । भिसा ल्याएर घरमा थन्काए ।
तर तत्कालै अमेरिका भने गएनन् । देशको अवस्था सुध्रिहाल्छ कि भनेर ।

त्यतिबेला अमेरिकाको भिसा नपाउदा हुन त नेत्रलालको जीवनले अर्कै मोड लिन्थ्यो होला । त्यसरी भिसा पाउनुमा उनि आफुले दुनियालाई गरेको सहयोग र भगवानको कृपा ठान्छन । त्यसैले नेत्रलाल भन्छन – ” मान्छेले धर्म गर्नु पर्छ । धर्म गर्नेलाई एकदिन भगवानले हेर्छन । भगवानले त्यति बेला नहेरेका भए अहिले म सडक छाप हुन्थे । मेरो त बिजोग हुन्थ्यो ।” उनि भगवानमा पनि भरोशा गर्छन ।

मन्त्रि बनाउने आस्वाशन र ज्योतिष भविष्यवाणी :

संसद भंग भएपछी देशमा झन गन्जागोल भैरह्यो । मन्त्रीमंडल बन्ने र फेरिने क्रम चलिरह्यो । त्यसवेला पनि दरवार र नेताहरु संग नेत्रलालको राम्रो पहुच थियो । त्यसैले सुर्यबहादुर थापा प्रधानमन्त्रि भएको बेला उनलाई मन्त्री बनाउने आश्वासन आयो । आश्वासन पाए पछि नेत्रलाल ढुक्क भए तर महिनौं बित्यो, आश्वासन कार्यन्वयन भएन।

त्यसपछि नेत्रलालको एउटा ज्योतिस संग नाटकीयरुपमा भेट हुने मौका मिल्यो । राजेश्वर कार्की भन्ने नेत्रलालका एक जना साथी थिए – जाजरकोटका । परिवार छोराछोरी संगै उनि काठमाण्डौ बस्थे । उनको जीवन समस्याग्रस्त थियो । उनी आपत विपतमा थिए । छोराछोरीको स्कुल फि, घरभाडा, राशनपानी जुटाउन धौधौ थियो ।

के गर्दा आफ्नो अवस्था सुध्रिन्छ ? केहि ग्रहदसा छन कि भनेर उनी एकजना ज्योतिष संग चिना हेराउन गए । चिना हेरे पछि ति ज्योतिषले उनलाई भनेछन् – “तपाई छ महिना भित्र घर किन्नु हुन्छ ।” ज्योतिषको कुराले राजेश्वरलाई आफ्नो मजाक उडाएको जस्तो लागेछ । नेत्रलाल भन्छन – ”मलाई घरभाडा कसरी तिर्ने हो भन्ने समस्या छ । यस्तो नचाहिने कुरा गर्ने भनेर राजेश्वरले ति ज्योतिषलाई झन्डै नकुटेको रे ।”

उनले जे देखे त्यहि भने तर राजेश्वर रिसाएपछि सम्झाउदै ति ज्योतिष भनेछन – ”मैले तपाईको मुख हेरेर घर किन्नुहुन्छ भनेको होइन । तपाइको ग्रहदशाले त्यस्तै पारिराख्या छ । ६ महिना भित्र तपाइले घर किन्नु भएन भने म यो पेशा नै छोडिदिन्छु ।” त्यसपछि राजेश्वर ति ज्योतिष संग बिदा भएर फर्के ।

कस्तो संयोग ! ठिक त्यतिबेला जिबिस सभापति मनोनित गर्ने कुरा आयो । कमल थापा स्थानिय बिकास मंत्री थिए । उनीहरुले सल्यानको जिबिस सभापति सिपारिस गर्न नेत्रलाललाई भने । नेत्रलालले सुरुमा केशर सिंह र अनुबमलाई सभापति बन्न अनुरोध गरे तर उनीहरु तैयार भएनन । त्यसपछि उनले आफ्नो निकट र नातेदार रहेका मनोज प्रधानलाई सभापति बन्न प्रस्ताब गरे । मनोज प्रधान जिबिस सभापति भए ।

२०४० सालमा नारायणहिटि दरवारमा राजप्रसाद ग्रहण गर्दै नेत्रलाल ।

मनोज प्रधानको त्यतिबेलै काठमान्डौको शंखमुलमा घर थियो । सल्यानको जिबिस सभापति भएपछी उनले काठ्माण्डौको घर बेच्ने सोच बनाए । उनले घर बेच्ने सोच बनाए पछि नेत्रलालले राजेश्वरलाई घर किन्ने भए हेर्न आउनुस भनेर बोलाए । तर त्यतिबेला सम्म राजेश्वरलाई ज्योतिषले भनेको कुरा नेत्रलाललाई केहि पनि थाहा थिएन । राजेश्वरले भनेकै थिएनन ।

राजेश्वर घर हेर्न आए । घरको मूल्य भयो । मनोजले ३३ लाख भनेका थिए । राजेश्वरले ३१ लाख दिन्छु भने । ३१ लाखमै कुरा मिल्यो । राजेश्वर पैसा जुटाउन हिडे । लोनको लागी राजेश्वर बैंकमा पुगे । बैकले भन्यो – ” पहिला घर तिम्रो नाममा पास गर। घर पास भएको ३ दिनमा लोन दिन्छौं ।” राजेश्वरले त्यहि खवर नेत्रलाललाई सुनाए । नेत्रलालले त्यहि खवर मनोजलाई फरवार्ड गरे । आखिर बिश्वास न हो । मनोज पनि सरल मान्छे । उनले पैसा नबुझेरै घर पास गर्दिए । ३ दिन पछि बैकबाट पैसा ल्याएर राजेश्वरले मनोजलाई बुझाए ।

यसरी ज्योतिषले भने अनुसार ६ महिना भित्रै राजेश्वरले घर किने । अझ अचम्मको कुरा घरको प्रकृति पनि ज्योतिषले भनेका थिए – ”घर पुर्वतर्फ फर्केको हुनेछ । घर अगाडी केराका थानाहरू हुनेछन । ” ठ्याक्कै त्यहि भयो। काठमाण्डौमा घर भाडा कसरि तिर्ने ? छोराछोरेको स्कुल फि कसरी तिर्ने ? के उपाय गरे आफ्नो अवस्था सुध्रेला भन्ने अवस्थामा पनि ज्योतिषले भने अनुसार अकस्मात ६ महिना भित्रै उनले घर किने । त्यसपछि उनले नेत्रलाल लाई ज्योतिषसंग भएको सबै वृतान्त सुनाए ।

तपाई बिदेश जानुमै बेश हुन्छ : ज्योतिष

नेत्रलालको अवस्था पनि राजेश्वरको भन्दा कम कहाँ थियो र ? काठ्माण्डौको बसाई । सांसद हुदासम्म तलव भत्ता आउथ्यो र गुजारा चल्थ्यो । तर संसद भंग भएको पनि २-३ बर्ष भैसकेको थियो । मंत्री बनाउने आश्वासन पाएको पनि महिनौं भैसकेको थियो तर पुरा भएको थिएन । राजेश्वरले नेत्रलाललाई पनि सोहि ज्योतिष संग चिना हेराउन सुझाव दिए । नेत्रलाल भन्छन – ”मान्छेलाई आपत विपत पर्यो भने के गरे होला, कस्तो गरे होला, कसलाई भेटे होला भन्ने हुदो रैछ । त्यसपछि म पनि ति ज्योतिष संग चिना हेराउन गए ।”

५०० रुपैया भेटि सहित नेत्रलालले ति ज्योतिषको अगाडी आफ्नो चिना राखे । चिना हेरेपछि ति ज्योतिसले सुरुमै नेत्रलाललाई भने – ”तपाई बिदेश जानुस, यहाँ नबस्नोस ।” ज्योतिषको कुराले नेत्रलाल झसङ्ग भए। डराए । देश द्व’न्दमा थियो । कतिवेला के हुने हो, केहि थाहा थिएन । त्यसैले उनले ज्योतिषलाई सोधे – “किन यसरी बिदेश जा भन्नुभयो गुरु ? मेरो जिउ ज्यान माथी केहि ख’तरा देख्नु भयो र ?”

तर ज्योतिषको जवाफ झनै अनपेक्षित थियो । ज्योतिषले भने – “तपाई रामको पालामा जन्मनु पर्ने मान्छे रैछ । अहिले जन्मनु भयो । अहिले तपाईको यहाँ केहि काम छैन । तपाई बिदेश जानुस । तपाइको जे हुन्छ, उतै हुन्छ । जे पाउनु हुन्छ , उतै पाउनु हुन्छ । तपाइको यहा केहि उपाय लाग्दैन । तपाई जानुस ।”

त्यसपछि नेत्रलालले झनै आश्चर्यचकित हुन्छन । उनी जतिबेला पनि अमेरिका जान सक्ने अवस्था हुदाहुदै पनि ज्योतिषले के भन्लान भनेर सोध्छन – “बिदेश जाने त भन्नु भयो गुरु तर भिसा पाउनु पर्यो, पैसा हुनु पर्यो, त्यसै जान्छु भनेर हुन्छ र ?”

तर ज्योतिषले झनै आश्चर्यजनक जवाफ दिन्छन – “तपाईले जान्छु भनेर मन उठाउनु भएको छैन, मन उठाउनु भयो भने अहिल्यै जान सक्नुहुन्छ।” नेत्रलालले पटकपटक सोध्छन । तर ज्योतिषको एउटै जवाफ हुन्छ – “जान्छु भनेर मन उठाउनु भयो भने तपाई आजै जान सक्नु हुन्छ।”

हुन पनि हो । उनले अमेरिकाको भिसा लगेको २-३ वर्ष भैसकेको थियो । देशमा केहि गरिखाने अवस्था आइहाल्छ कि भनेर आशै आशमा मात्र उनि बसेका थिए ।

ज्योतिषको यस्तो भविष्यवाणी पछि नेत्रलालले आफुले जागिर छोडेर राजनीतिमा लागेदेखि आर्थिक अवस्था बिग्रेसम्म, चुनाव जिते देखि संसद भंग भएसम्म र अमेरिकाको भिसा लागे देखि मन्त्रि बनाउने आश्वाशन पाए सम्मका सबै वृतान्त सुनाए ।

के गर्दा शान्ति मिल्छ, यो अवस्था बाट मुक्ति पाइञ्छ भनेर उपाय माग्न आएको बताए। त्यसपछि ज्योतिषले पुन: निकै घोरिएर चिना हेरे र पुन : भने – “तपाई बिदेश जानुमै बेश हुन्छ। यस्ता चक्करमा लागनुभयो भने तपाई यो भन्दा झन् हजार गुणा बर्वाद हुनुहुनेछ।”

ज्योतिषको त्यो सुझाव पछि नेत्रलाललाई पनि लाग्यो – ”ज्योतिषले ठिकै भने । अहिलेको अवस्थामा मन्त्रि भएपनि ५ महिना हुने हो वा ६ महिना हुने हो ? केहि ठेगान छैन । मेरो ताल यस्तै हो । कसैसंग अलिकति माग्न नसक्ने, बरु भएको सिध्याउने । यस्तो विषम परिस्थिति छ , राजाले पनि कतिदिन थेक्लान ? भोली जे पनि हुन् सक्छ । यो हुने खेल होइन ।” त्यसपछि उनि झोला कुम्ला बोकेर २०६१ मा अमेरिका तिर गए ।

२०४५ माघमा राजा बिरेंन्द्र र रानी ऐश्वर्यको खैरावांङ दर्शनको सवारी गराउदै नेत्रलाल ।

किन फर्के त उनी ?

भनिन्छ सपनाको देश हो, अमेरिका । तर १० बर्ष अमेरिका बसेर उनि नेपाल फर्किए । किन फर्किए त ? राउटे र राजाको प्रसंग सम्झदै उनि भन्छन – ‘‘२०४० सालमा राजा विरेन्द्र सुर्खेत सवारी हुनुन्थ्यो । त्यसवेला म युवक संगठन सल्यानको सभापति थिए । राजाले त्यतिवेला राउटेको बारेमा धेरै सुन्नु भएको रहेछ । राउटेहरु सँग भेट गराउ भनेर आदेश गर्नुभयो । त्यसपछि हामिले कालिमाटि बाट राउटेहरुलाई सुर्खेत पु¥यायौं । भेटेपछि राजाले राउटेहरुलाई भने – ‘‘म तिमिहरुलाई घरजग्गा दिन्छु, तिम्रा छोराछोरीलाई पढाई दिन्छु । सबै व्यवस्था गर्दिन्छु तर यस्तो दुखको जिन्दगी नकाट, सुख सँग बस ।”

तर राउटेहरुले राजाको प्रस्ताव स्वीकार गरेनन् । राउटेहरुले भने – ‘‘नाई राजा, तिमि घरको राजा हामि बनको राजा । हामि जस्तो अवस्थामा छौ, जे गरेर बसिराख्या छौ, त्यस्तै अवस्थामा बस्न देउ । हामिलाई तिम्रो केहि चाहिदैन । हामि हाम्रै तरिकाले बाँच्छौ । बरु तिम्रो बनपालेले रुख नकाट भनेर हामिलाई सताउछ । तिम्रो बनपालेलाई नसताउन भन्देउ ।” उनिहरुको माग सिर्फ यत्ती थियो ।

नेत्रलाल भन्छन – ‘‘त्यतिबेला हामि सबैले राउटेहरुलाई धिक्कार्यौ, गाली गयौं । राजाले सबै व्यवस्था गर्दिन्छु भन्दा पनि नमान्ने भनेर । तर राउटेहरुले भनेको सहि रहेछ । आफ्नो शैली, आफ्नो परम्परा, आफ्नो संस्कृति सबैको लागी प्यारो हुदो रैछ ।” अमेरिका पुगेपछि उनलाई राउटेको कुरा खड्क्यो ।

हुन त अमेरिकामा के थिएन र ? के पाइदैन थियो र ? के पुग्दैन थियो र ? तर जव उनले नेपाल फर्किने निधो गरे, तव उनका आफन्त शुभचिन्तक मान्छेहरु उनलाई बौलाईस कि क्या हो भनेर गाली गर्थे । उनिहरुको आषय हुन्थ्यो – ‘‘ किन जान्छस ? तेरो लागी यहाँ के पुगेको छैन ?” तर नेत्रलाल बाध्यताले त्यहाँ बसेका थिए ।

उनलाई लाई आफ्नै डाँडाकाडा, पाखापखेरु, साथि – सहकर्मिहरुको यादले सताउथ्यो । उनि भन्छन – ‘‘कहिले गाउँ जाँउला र त्यतिबेलाका आफुलाई माया गर्ने, श्रद्धा गर्ने साथीभाई बुढापाकाहरु लाई देखौला, भटौला जस्तो हुन्थ्यो ।”

नेत्रलाल टुरिष्ट भिसा मार्फत अमेरिका पुगेका थिए । निश्चित कानुनी प्रक्रिया पुरा गरेर ग्रीनकार्ड पाए । अमेरिकामा ग्रीनकार्डधारीले मताधिकार बाहेकका सबै अधिकार उपभोग गर्न पाउछन ।

निश्चित समय पछि ग्रीनकार्ड कानुन अनुसार नागरिकतामा परिनत गर्न सकिन्छ । अमेरिकामा निश्चित समय काम गरेपछि र राज्यलाई तिर्नूपर्न कर तिरेपछि उमेर पुगेपछि प्रत्यक नागरिकलाई पेन्सनको व्यवस्था हुन्छ । नेत्रलालले अमेरिकामा १० वर्ष काम गरे र नियामानुसार राज्यलाई तिर्नूपर्ने कर तिरेका थिए ।

उनले कानुन अनुसार अमेरीकी नागरिकता लिन पनि सक्थे । त्यसैले उनका आफन्त, साथीभाई, शुभचिन्तकहरु भन्थे – ‘‘ नेपाल फर्किने भएपनी यतैको नागरिक भएर फर्के । महिनामा करिव ८० – ९० हजार नेपाली रुपैया तेरो पेन्सन पाकिहाल्छ । आखिर नेपाल गएपछि पनि पैसा त चाहियो नै । बिना पैसा त नेपालमा पनि के हुन्छ र ? यति भएपछि तलाई कसैसँग हात थाप्नु पर्दैन । कसैको दया मायामा बाँच्नु पर्दैन ।” आफन्तहरुको माया न हो । दुख पावस भन्ने कसले पो चाहान्छ र ?

तर नेत्रलालले आफ्नो देशको नागरिकता त्याग्न सकेनन । आफन्तहरू लाई उनि भन्थे – ‘‘ आमाको दुध चुसेर त पुगेन भने बाउको पाखुरा चुसेर कति दिन हुन्छ र ? म जे जे पर्छ सहन्छु । जे जे पर्छ व्यहोर्छू । खाना पाए पाउला, नपाए नपाउला । कसैले हेरेछ भने हेर्ला । नहेरे नहेर्ला । तर म आफ्नो देशको नागरिकता त्याग्दिन ।”

यसरि १० वर्ष पछि २०७२ सालमा , अमेरिकाको सुख सुविधा सबै छोडेर उनी आफ्नै गाउँघरमा फर्किए । फर्केपछि उनले सल्यानका धेरै ठाउँमा भेटघाट गरे । कतिपय बुढापाकाहरु उनलाई भेटेर रुनु भयो । ति घटनाहरु सम्झदै उनि भन्छन – ‘‘कति धेरै आत्मीयता, कति धेरै माया । म शब्दमा कसरी भनुं ?”

राजनीतिमा नेत्रलाल:

सल्यान खलंगाको सामान्य नेवार परिवारमा जन्मेका नेत्रलाल विद्यार्थी कालदेखि नै राजनितिक सामाजिक काममा रुचि लिन्थे । बिद्यार्थी संगठनको चुनावमा भाग लिन्थे । त्यतिवेला उनको घरको आर्थिक अवस्था कमजोर थियो । त्यसैले २०२८ सालमा slc पास गरेपछि उनले जागिर खाए । जागिरको शिलशिलामा उनि जाजरकोट, काठमाण्डौ हुदै भूमिसुधार कार्यालय दाङमा सरुवा भए । उक्त कार्यालयमा नेत्रलाल लेखा शाखामा काम गर्थे ।

त्यस कार्यालयमा मधेसी मुलका एकजना बृद्ध मान्छे बारम्बार आइरहन्थे । उनका हात चल्दैन थिए । आफ्नो गोजी बाट आफै पैसा पनि झिक्न सक्दै थिए । उनलाई सधै कार्यालयमा आएको देखे पछि नेत्रलालले सबै कुरा सोधे । उनको करोडौको सम्पति रहेछ । तर सम्पति भोगचल गर्ने आफ्ना छोराछोरी रहेनछन । त्यसैले बाचुन्जेल हेरचाह गर्ने र उनको मृतुपछि सम्पति नामसारी गर्ने सर्त सहित एकजना भतिजा नाता पर्नेलाई उनले बकस पत्र गर्दिएका रहेछन । तर बकस पत्र पाएपछि ति भतिजा नाता पर्नेले उनको कुनै सेवा , हेरचाह गरेनन ।

त्यसैले ति बृद्ध त्यो बकस पत्र बदर गर्न चाहन्थे । तर कर्मचारीहरुले उनलाई सहयोग गरेका थिएनन । नेत्रलालले उनको समस्या समाधान गरिदिन प्रसाशन शाखाका कर्मचारी र हाकिमलाई अनुरोध गरे। तर हाकिम र कर्मचारीहरुले उल्टै तपाइलाई के मतलव भनेर नेत्रलाल सँग झगडा गरे। ति वृद्धको कुरा कसैले सुनेनन।

नेत्रलाललाई चित्त बुझेन । त्यसपछि उनले राजिनामा बुझाए । सल्यान फर्के । व्यापार सुरु गरे । २०३२ सालमा गाउँ पन्चायतको वडा सदस्यको चुनाव लडे । चुनाव जिते । यसरि उनि राजनीतिमा प्रवेश गरे । पछि२०३९ सालमा युवक संगठनको सभापति भए । २०४३ सालमा जिल्ला विकास समितिको उपसभापति भए । र २०५६ को चुनाव जितेर सांसद भए ।

२०७४ सालमा ५ न. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संग भेटघाटमा नेत्रलाल श्रेष्ठ ।

लोकप्रिय नेत्रलाल :

त्यतिबेला अहिलेको जस्तो समय थिएन । अज्ञानता अशिक्षा ब्याप्त थियो। सामान्य जनता सरकारी कार्यालयमा आएर सहजै काम गर्न सक्ने अवस्था थिएन। अहिले त सरकारी कार्यालयमा काम गराउन गाह्रो हुन्छ भने त्यसबेला कस्तो हुदो हो ?

नेत्रलाल भन्छन – “कर्मचारीले अप्ठ्यारो पार्ने र पैसा झार्न खोज्थे ।” तर नागरिकका काममा सबै अड्डामा नेत्रलाल स्वयम् गएपछि काम पनि छिटो हुन्थ्यो र पैसा पनि खर्च हुदैन थियो । बाफतमा उनि केहि लिदैन थिय । बिकास निकासको पहलकदमी लिन्थे । त्यसैले मान्छेहरु उनलाई ठुलो सहयोगी ठान्थे र उनलाई खोज्दै आउथे । यसरि उनि सबैमाझ लोकप्रिय थिए।

तर उनि अमेरिका गएपछि गाउ संगको सम्पर्क टुट्यो । अहिले आउदा राजनीतिमा उनको प्रभाव घट्यो । उनि भन्छन – ”अहिले राजनितिक माहुल फेरिएको छ । राजनीति युवाको हातमा छ । त्यसबेला मैले सहायोग गरेको पुस्ता अहिले प्रभावशाली छैन । अमेरिका गएपछि भन्दापनि २०५६ मा निर्वाचित भए पछि नै हाम्रो गाउ संगको सम्बन्ध टुट्यो । मतदातालाई भेटेर धन्यवाद पनि दिन पाइयन । जनयुद्ध चर्किदै थियो । निर्वाचित भएको भोलिपल्टै सेनाको हेलिकप्टर बाट काठमाण्डौ पुर्र्याइयो । त्यसपछि गाउ फर्किन दीइएन । सदरमुकाम सम्म आएपनि गाउ जान पाइयन । लुकिछिपी गए पनि खुलेर जान पाइयन । कसैलाई भेट्दापनी माओबादिको अनुमति लिनुपर्थ्यो । त्यसो गर्नुमा , उनिहरूको पनि सुरक्षाको कुरा थियो । यसरि जनसंबन्ध टुट्यो । राजनीतिमा हाम्रो प्रभाव घट्यो । २०५६ सालमा जन्मेको मान्छे अहिले राजनीतिमा हुनुन्छ तर हाम्रो उहाहरु संग चिनजान छैन ।”

उनी अहिले छायामा परेका छन् तर लोकप्रियता भने अहिले पनि घटेको छैन । पछिल्लो समय सामाजिक संजालको माध्यमबाट धेरै युवाहरू संग उनको चिनजान भएको छ । उनको बारेमा सुनेका र राजनीतिमा चासो राख्नेहरु उनलाई खोज्दै आउछन, जसरि यो पंतिकार पुगेको थियो ।

प्रशंसाको मन्द जहर :

२०४७ सालमा देशमा बहुदलिय व्यवस्था स्थापना भयो । देशमा राजनीतिका परिवर्तन भयो । तर परिवर्तन संगै उनि परिवर्तन भएनन । उनले राप्रपा छोडेनन ।

जिल्लामा उनको लोकप्रियता देखेर काङ्ग्रेस – कम्युनिष्ट दुवैले उनलाई आफ्नो पार्टीमा ल्याउने कोसिस गर्थे । शंकर पोखरेल ( अहिले ५ न. प्रदेशका मुख्यमन्त्री ) ले त उनको काठमाण्डौ स्थित डेरामा पुगेर एकचोटि भनेका थिए – ” सक्नुहुन्छ भने हाम्रो पार्टीमा आउनुस , पार्टीमा आउन सक्नुहुन्न भनेपनि सुर्य चिन्हमा चुनाव लड्नोस ।” तर नेत्रलालले मानेनन् ।

उनलाई एउटै घमण्ड थियो – ”मैले कसैको केहि खाएको छैन । कसैलाई रुहाएको छैन । सकेसम्म सबैलाई उद्दार गरेको छु । म संग आउने कसैलाई निराश बनाएर पठाएको छैन । प्रत्येक घरका मान्छेलाई सानाठूला सहयोग गरेको छु । उनीहरूले कसरि भोट नहाल्लान र ? कसरि धर्म हार्लान र ? ”

तर २०४८ र २०५१ को चुनावमा नेत्रलाल पराजित भए । नेत्रलाल भन्छन – ”पंचायतको जमाना थियो । म सल्यान जिल्लाको जल्दोबल्दो पंच । जिल्ला पंचायतमा निर्बिरोध निर्बाचित उपसभापति पनि थिए । गाउँ घरबाट आउने सबै सेवाग्राहिका लागि म सधै र जहिले पनि उपस्थित रहन्थ्य । सरल , सहज र छिटो छरितो सेवा पुर्याउन म सधै तत्पर रहनेहुदा सबैको प्रिय सहयोगी पात्र थिए । समय परिबर्तन भयो । सबै परिबर्तन भए । सेतो कालो भयो । कालो सेतो भयो । तर म परिबर्न हुन सकिन । सधै प्रसंशा सुन्ने कानले र देख्ने आखाले समय भाप्न दिएन । धेरै ठूला अबसर दिलाउन सहयोग गरिएका ब्यक्तिहरु, दुःख र शंकटका समयमा सहयोग गरिएका ब्यक्तिहरु सबै अब पराइ भैसके , हिजोका साथ सहयोग सबै समय सङ्गै बिलाइ सक्यो भन्ने मलाई थाहै भएन ।”

२०४० सालमा राजा बिरेन्द्रको भ्रमण पछि खैराबांङ् मन्दिर पुन: निर्माण भएको थियो ।

उनीसंग जो आउथे उनीहरुपनि यस्तै प्रसंशा मात्रै गर्थे । त्यसैले नेत्रलाल अचेल भन्छन – “यो प्रसंशा सुन्ने बानि पनि राम्रो रहेनछ । प्रसंशाले मेरो कान यसरि भरियो कि मैले कसैले मलाइ नराम्रो भन्नु भएको होला भन्ने नै सोचिन। म भन्दा मेरा प्रतिस्पर्धी बलिया होलान भन्ने नै बुझिन । परिवर्तन संगै म पनि परिवर्तन हुनुपर्छ भन्ने महसुस हुन् पाएन । यदि त्यतिबेला मा काङ्ग्रेस वा कम्युनिष्टमा लागेको भए अहिले १० वर्ष पछि आउदा पनि मलाइ समस्या हुने थियन किनकि यी पार्टी क्याडरबेस पार्टी थिए । हाम्रो पार्टी राप्रपा सदस्यतामा आधारित पार्टी थियन । हामि २-४ जना पलाएन भएपछी पार्टी नै सकियो ।”

अमेरिकाबाट फर्केपछि :

२०७२ सालमा उनि स्वदेश फर्के । स्वदेश फर्केपछि उनि पुन: सामाजिक राजनीतिक काममा सक्रिय छन् । २०७२ देखि नै उनले सल्यानका बिद्यालयहरुमा इन्टरनेट पुर्याउने सुरु गरे । त्यसबेला सल्यानमा अहिले जस्तो इन्टरनेटको पहुच थिएन । नेपाल टेलिकमको wi max सिस्टम बाट मात्रै नेट चलाउन सकिन्थ्यो ।

उनले व्यक्तिगत लगानीमा साढे पाँच लाख खर्च गरेर सामाग्री ल्याए तर सदरमुकाम बाट टाढाका बिद्यालयमा जडान गर्ने धोको पुरा भएन । किनकि wi max सिस्टमले त्यहाँ काम गरेन । त्यसपछि उनले यो प्रबिधि खलङ्गा, लेखापोखारा, स्यानिखाल, कपुरकोट, मदमकाडा लगाएतका ठाउमा जोडे । जहाँ wi max सिस्टमले काम गर्यो ।

बिद्यालयमा इन्टरनेट पुर्याउने उनको यो अभियान अहिले पनि जारि छ । यो अभियानमा अहिले अमेरिका निवासी उनका भतिजा सोमेंद्र श्रेष्ठ पनि साथ छ । भर्खरै मात्र उनको सहयोगमा नेरामाबी फलावांग र जनता माबि काभ्रामा उच्च प्रविधिको इन्टरनेट जोडिएको छ ।

नेत्रलाल भन्छन – ‘‘हाम्र्रो पढाइको जुन तौर तरिका छ , त्यो बाट हामि उभो लाग्दैनौ । अहिलेको हाम्रो पढाइले खरिदार सुब्बा बाहेक अरु ठाउँमा जाने अवस्था छैन । हाम्रो बेरोजगारीको समस्या नै यहि हो । अव प्रविधिमा आधारित पढाइ हुनुपर्छ । तब मात्रै मान्छेले धेरै कुरा थाहा पाउछ । युगले मागेको शिक्षा हुनुपर्छ भन्ने मेरो जोड हो ।”

यस बाहेक उनले  सल्यानका युवाहरु लाइ निशुल्क विभिन्न सिपमुलक तालिमहरु सिकाउने, विभिन्न बिद्यालयमा छात्रवृतिमा गरिब जेहेन्दार बिद्यार्थीलाई पढाउने, विभिन्न स्वास्थ्य शिविरहरु चलाउने गरेका छन् ।

गीतकार नेत्रलाल :

नेत्रलाल गित र कविता पनि लेख्छन । उनका केहि शब्द र संगीतलाई समधुर स्वरकी धनि गायिका रिता केसीले आवाज दिएकि छन् ।

कुपिण्डेको निर्मल दह :

चुडिन्छ भन्ने भन्ने थाहै भएन :

यो जिन्दगि पनि :

तिम्रो दिलको मझेरीमा :

नेत्रलाल एउटा व्यक्ति मात्र नभएर हाम्रो राजनीतिका सुन्दर प्रवृति हुन । तर समयको प्रवाहलाई उनले चिनुन । निष्ठा र इमानको राजनीति कमजोर बनेको, राजनीति दिन प्रतिदिन विकृत बनिरहेको यस सन्दर्भमा समाजले नेत्रलाललाई चिनोस । शुभकामना ।

नोट : नयाँ दृष्टिको मासिक स्तम्भ छुटेका कथाहरु टुटेका कडीहरू जोड्ने प्रयास हो ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको