June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
बागचौरका शिक्षकहरुको गुनासो – ‘हाम्रै तलब काटियो, हाम्रै कोरोना बिमा गरिएन’

बागचौरका शिक्षकहरुको गुनासो – ‘हाम्रै तलब काटियो, हाम्रै कोरोना बिमा गरिएन’

मंसिर २०, सल्यान । सल्यानको बागचौर नगरपालिकाका बिभिन्न विद्यालयहरुमा कार्यरत शिक्षकहरुले नगरपालिका प्रति गुनासो गरेका छन । नगरपालिकाले आफुहरुलाई सामुहिक कोरोना जोखिम बिमा बाट बञ्चित गरेको भन्दै उनिहरुले गुनासो गरेका हुन ।

राज्यकोष बाट तलव लिने शिक्षक कर्मचारीहरुको निशुल्क सामुहिक कोरोना बिमा गर्ने नेपाल सरकार र राष्ट्रिय बिमा कम्पनी लिमिटेड विच भएको सम्झौता अनुसार नगरपालिकाको शिक्षा शाखाले बिमा कम्पनीमा पठाउनु पर्ने शिक्षकहरुको विवरण नपठाईएको कारण शिक्षकहरु कोरोना जोखिम बिमा बाट बन्चित भएको उनिहरुले बताएका छन ।

नगरपालिकाले आफुहरु सँग कुनै छलफल र परामर्श नै नगरी सात दिनको तलव काटेर कोरोना रोकथाम तथा नियन्त्रण कोषमा राखेकोे तर सरकारले दिएको सुविधाबाट लापरवाहिवस बञ्चित गराएको उनिहरुले बताएका छन ।

‘हाम्रो सात दिनको तलव काटेर नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा राखियो तर नगरपालिकामा कार्यरत शिक्षकहरु सँग त्यसबारेमा कुनै छलफल र परामर्श नै गरिएन ।’ एक शिक्षकले भने– ‘त्यतिबेला माहामारीको समयमा योगदान गर्नुपर्छ, सहयोग भयो भनेर ठिकै छ भन्यौं तर अहिले आएर राज्यले दिएको सुबिधा बाट बञ्चित गराएकोमा भने दुख लागेको छ ।’

त्यस्तै, शिक्षकहरु काेराेना संक्रमणको जाेखिम हुदाहुदै पनि पाठ्यपुस्तक बितरण, बिद्यार्थीहरुको घरदैलाेमा गई बिद्यार्थी भर्ना गर्ने देखि लिएर टाेलगत क्लष्टर बनाई शिक्षण गरेकाे तर त्यतिबेला पनि नगरले स्वास्थ्य साबधानिका आबश्यक सामग्रीहरु ब्यबस्था नगेरकाे र अहिले कोरोना बिमा पनि छुटाईदिएको सुन्दा नमज्जा लागेको अर्का एक शिक्षकले नयाँ दृष्टिलाई बताए ।

यस्तो थियो कोरोना बिमाको ब्यबस्था

बिश्वभर महामारीको रुपमा फैलिएको कारोना भाईरसको जोखिम बढेसँगै नेपाल सरकारले सरकारका बिभिन्न संस्था र तहमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी र करार कर्मचारी तथा शिक्षकहरुको रु. १ लाख बराबरको सामुहिक कोरोना बिमा गर्न आर्थिक बर्ष २०७७-७८ को बजेट बक्तव्यको बुदा न. ५५ र २८५ मा कोरोना बिमा सम्बन्धि व्यबस्था गरेको थियो ।

सोहि व्यबस्था कार्यन्वय गर्न नेपाल सरकार र अर्थ मन्त्रालयको सहमतिमा बिमा समितिले कोरोना बिमा मापदण्ड, २०७७ लागु गरिएको थियो । राष्ट्रिय बिमा कम्पनी सँग गरिएको सम्झौता अनुसार नेपाल सरकारको शत प्रतिसत अुनुदानमा उक्त बिमा गर्न आआफ्नो स्थानिय तहमा कार्यरत सम्पुर्ण स्थायी, अस्थायी र करार कर्मचारी र शिक्षकहरुको विवरण पठाईदिन राष्ट्रिय बिमा कम्पनीले सबै स्थानिय तहहरुलाई सार्वजनिक सुचना मार्फत जानकारी गराएको थियो ।

साथै अन्य कर्मचारीको हकमा बिमा समितिले तोकेको बिमा प्रिमियम बापतको शुल्क भुक्तानी गर्नुपर्ने कम्पनीले बताएको थियो ।

सोहि सुचना अुनसार बागचौर नगरपालिको शिक्षा, युवा तथा खेलकुद शाखाले पनि भाद्र २० गते भित्र निशुल्क कोरोना जोखिम बिमाको लागी प्रअले प्रमाणित गरेर शिक्षकहरूको विवरण पठाउन ढाँचा सहित मातहतका विद्यालयहरुलाई भाद्र १५ गते पत्राचार गरेको थियो ।

तर ढाँचा अनुसार विद्यालयहरुले भाद्र २० गते भित्र विवरण नपठाएको र २० गतेपछि बिमा कम्पनीले बिबरण लिन नमानेकाले निशुल्क बिमा छुटेको बागचौर नगरपालिको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकबहादुर डाँगीले नयाँ दृष्टिलाई बताए ।

उनले भने – ‘उतिवेला विद्यालयहरु र शिक्षकहरुले निशुल्क भनेको यस्तै हो भनेर लापरवाहि गरेर तोकिएको समयमा मागीएको विवरण पठाएनन् । तर अहिले दुर्गा सरस्वति मावि बाफुखोलाका एकजना शिक्षकलाई कोरोना संक्रमण भएपछि निशुल्क बिमाको बिषयमा बिबाद उठाएका छन ।’

साथै भाद्र २६ गते भित्र रु.३०० शूल्क तिरेर अन्य निजि बिमा कम्पनीमा बिमा गर्न सिपारिस गर्दा पनि शिक्षकहरुले शुल्क तिर्न नमानेको र लापरवाहि गरेको उनले बताए । उतिवेला यो कोरोना यस्तै हो लाग्दैन भनेर लापरबाहि गरेको तर अहिले कोरोना लागेपछि कतिपय शिक्षकले बिमाको कुरा उठाएको उनको भनाई छ ।

तर दुर्गा सरस्वति माविका हेडसर नेवबहादुर वलीले भने भाद्र १७ गते चलानी गरेर नगरपालिकामा विवरण पठाएको बताएका छन् । राष्ट्रिय बिमा कम्पनीले भाद्र २८ गते सम्म विवरण पठाउनेको रु. १ लाख बराबरको बिमा गरेको र भाद्र २८ पछि विवरण पठाउनेहरुको रु. २५ हजार बराबरको बिमा गरेको सल्यानको एक अर्को स्थानिय तहका स्रोत व्यक्तिले बताए ।

कसरी थाहा भयो निशुल्क बिमा छुटेको ?

बागचौर नगरपालिकाको वडा नं १२ मा रहेको दुर्गा सरस्वति मावि बाफुखोलाका शिक्षक अमृतकुमार खत्रीले कोरोना संक्रमणको आशंका भएपछि कोहलपुर शिक्षण अस्पतालमा कोरोना परिक्षण गरे । मंसिर ३ गते उनले स्वाब दिए । मंसिर ४ गते उनको रिपोर्ट आयो । रिपोर्ट कोरोना पोजिटिभ आयो ।

त्यहाँ रिपोर्ट पोजिटिभ आएका अन्य जिल्लाका शिक्षकहरु पनि थिए । उनीहरुले आफुहरुले कोरोना बिमा भुक्तानी पाएको बताएका थिए । त्यसपछि आफुलाई कोरोना पोजिटिभ आएको कुरा खत्रीले आफ्नो विद्यालयका हेडसरलाई जानकारी गराए ।

साथै कोरोना बिमाको बारेमा पनि जानकारी तथा तथा भुक्तानी प्रक्रियाको बारेमा बुझिदिन आग्रह गरे । लगत्तै हेडसरले नगरपालिकाको शिक्षा शाखामा फोन लगाए । तर कोरोना बिमा नगरिएको जानकारी पाए । यसरी खत्रीले कोरोना संक्रमित हुदा पनि आफु राज्यले दिएको सुबिधा बाट बञ्चित भएको बताउछन ।

खत्री संक्रमित भएपछि मात्र नगरपालिकाका अन्य शिक्षकहरुले आफुहरुको पनि कोरोना बिमा छुटेको चाल पाएका हुन । त्यस्तै बागचौरकै अर्का एक शिक्षक पनि कोरोना संक्रमित भएको बताइएको छ । सरस्वति आधारभूत बिद्यालय बानपा २ ठिनबांङ्का  शिक्षक भरतमणि शर्मालाई पनि संक्रमण पुष्टि भएर होम आइसोलेसनामा बसेको बताइएको छ ।

बागचौरमा स्थायी, अस्थायी र करार शिक्षक संख्या २३० जना र ५८ जना नगरपालिकाको अनुदानमा आधारित शिक्षकहरु रहेका छन । नगरपालिकाले ‘कोरोना रोकथाम तथा नियन्त्रण कोष’को लागी भन्दै सबै शिक्षकहरुको ७ दिन बराबरको तलब कटौति गरेको थियो । तर उनै शिक्षकहरुको निशुल्क कोरोना जोखिम बिमा छुटेको पाइएको छ ।

बागचौर नगरपालिकाका शिक्षा शाखा प्रमुख डाँगीले भने नगरपालिकामा कसैको पनि निशुल्क कोरोना बिमा नगरीएको र हाकिम लगाएत आफुहरु सबैले पनि शुल्क तिरेर निजि बिमा कम्पनीहरुमा बिमा गरेको बताए ।

 

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको